
काठमाडौ : सुदुरपश्चिम प्रदेशको दार्चुला, कैलाली, कञ्चनपुर र अछाम जिल्लामा सञ्चालित सेफ वास परियोजना – २ को समय अवधि सकिएको छ । सन् २०१४ को जुलाई देखि पाँच बर्षसम्म सञ्चालन गर्ने गरी यूएसएडसँग भएको सम्झौता बमोजिम यही जुन महिनादेखि परियोजना अवधि समाप्त भएको सेवक नेपालले जनाएको छ ।
परियोजना अवधि सकिएको बारे जानकारी गराउन आज काठमाडौमा आयोजित गोष्ठीमा सेफ वास परियोजना २ का पार्टी प्रमुख नारायण बहादुर श्रेष्ठले परियोजना अवधिमा खानेपानीको पहुँच अभिवृद्धि गर्न र सरसफाइ सम्बन्धी बानी व्यहोरामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
परियोजना कार्यान्वयन भएका जिल्लाहरुमा अति विपन्न समुदाय पहिचान गरी उनीहरुको सरसफाइमा पहुँच अभिबृद्धि गर्न १ हजार २ सय रुपैयाँ बराबरको निर्माण सामग्री प्रदान गरिएको, समुदायको अगुवाईमा पूर्ण सरसफाइ तथा विद्यालयको अगुवाईमा पूर्ण सरसफाइ कार्यक्रम जस्ता सिद्धान्त अबलम्बन गरिएको उहाँले जानकारी गराउनुभयो ।
परियोजना अवधिमा सम्पन्न गरिएका मुख्य कामहरु :

यूएसआईडीको आर्थिक सहयोगमा सेवक नेपालले परियोजना कार्यान्वयन जिल्लाहरु दार्चुला, कञ्चनपुर, कैलाली र अछाममा खानेपानी, सरसफाइ र स्वच्छता अभिबृद्धिका लागि विविध क्रियाकलापहरु सञ्चालन गरिएको छ । जो निम्न छन् ।
चर्पी निर्माणका लागि सहयोग
सेवक नेपालले अति विपन्न १ हजार ८३५ घरधुरीलाई चर्पी निर्माणका लागि सामग्री प्रदान गरिएको छ । विपन्न घर धुरी पहिचान गरी प्रति घर बराबर १ हजार २ सय बराबरको निर्माण सामग्री प्रदान गरिएको सेवकले जनाएको छ ।
खुला दिसामुक्त घोषणा
सेफ वास परियोजना २ सुरु हुनु अघि नै अछाम खुला दिसामुक्त घोषणा भएपनि कैलाली, कन्चनपुर र दार्चुला खुलादिसामुक्त घोषणा गर्न सेवक नेपालले अहम् भूमिका निर्वाह गरेको छ । सामाजिक परिचालनको माध्यमबाट ती जिल्लामा चर्पी निर्माण गरी जिल्ला नै खुला दिसामुक्त घोषणा गर्न सफल भएको हो ।
खानेपानी आपूर्ति
परियोजना सञ्चालित ४ वटा जिल्लामा ४० वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएका छन् । ती सबै आयोजनाको दिगोपना तथा सुचारुपनाका लागि संस्थाले मर्मत सम्भार कार्यकर्ता तथा सम्भार कोषको व्यवस्था गरिएको छ ।
ह्याण्ड पम्प जडान
परियोजना सञ्चालित चार वटै जिल्लामा गरी १०७ वटा ह्याण्ड पम्प जडान गरिएको र पानीको गुणस्तर मापन गरी विश्व स्वास्थ्य संगठनले तोके अनुसारको खानेपानी गुणस्तर रहेको सेवक नेपालले जनाएको छ ।
सार्वजनिक शौचालय निर्माण
परियोजना सञ्चालित चार वटा जिल्लामा ४९ वटा सार्वजनिक तथा संस्थागत शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । ती सबै समुदाय एवं संस्थागत तरिकाले सञ्चालन भईरहेका छन् ।


2094 पटक हेरिएको 

