
नेपालगञ्ज : प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा बर्षातको समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानी सम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।
महाशाखाका धनप्रसाद पौडेलले बर्षातको बेलामा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले यो मेसिन स्वास्थ्यकर्मी आफैले बोकेर प्रभावित क्षेत्रमा पुगी पानीको जाँच गर्न सक्ने र भरपर्दो नतिजा दिने मेसिन भएको जानकारी दिदै यस मेसिनले पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न ४ वटा पारामिटर परिक्षण गर्न सकिने गर्न सकिने बताउनुभयो ।
कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका डा सुदनराज पन्थी, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजी निरीक्षक भोला अधिकारीलगायतले अनुशिक्षण गर्नुभएको थियो । यसअघि बर्दिबासका स्वास्थ्य संस्थाहरुलाई पनि यस्तै प्रकारका पानी जाँच गर्ने उपकरण वितरण गरिएको थियो ।


1082 पटक हेरिएको 

