काठमाडौ : वास मिडिया फोरमकी केन्द्रिय कार्यसमिति सदस्य एवं गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामा माथि भएको दुर्व्यवहारको वास मिडिया फोरमले भर्त्सना गरेको छ । फोरमकी केन्द्रीय सदस्य लामा प्रति भएको दुर्व्यवहार र आक्रमणको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामा प्रति भएको यो प्रहार सिंगो स्वतन्त्र प्रेस माथिको प्रहार भएको ठहर गरेको छ ।
फोरमका महासचिव पी.टी. लोप्चनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सत्यतथ्य समाचार संकलन गर्न गएका पत्रकार लामा प्रति भएको यो प्रहार सिंगो स्वतन्त्र माथिको प्रेस माथिको प्रहार हो भन्ने हाम्रो ठम्याई छ । त्यसैले पत्रकार लामा माथि दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछौं ।’
काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केको पाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको घर स्थानीयले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा शनिबार पत्रकार लामाको मोबाइल जबर्जस्ती खोसिएको थियो । आफू गोरखापत्र संस्थानमा कार्यरत रहेको परिचय पत्र देखाउँदा समेत आक्रोशित भीडले यो भूमाफियाको मान्छे भन्दै मोबाइल खेलाउँदै पत्रकार लामालाई लछारपछार गरेको थियो ।
सत्यतथ्य समाचार संकलन गर्न गएका पत्रकार लामाले जग्गा अतिक्रमितलाई नै बल पुग्ने गरी समाचार सम्प्रेषण गर्छन् भन्ने आशंकाले आक्रोशित समूहले लामालाई तारो बनाएको हुन सक्ने वास मिडिया फोरमको आंकलन छ ।


622 पटक हेरिएको 

