काठमाडौ : देशभर अबिरल बर्षा भईरहेको छ । ठाउँमा ठाउँमा आएको बाढी र पहिरोले २२ जनाको ज्यान लिइसकेको छ भने केही मानिस बेपत्ता छन् । भारी बर्षाको बेला पहाडमा बाढी पहिरो र तराईमा डुबान हुनु स्वभाविक हो । किनकि नेपालको भूवनोट नै त्यस्तै किसिमको छ । अझ वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बनाइएका सडकका कारण पहाडमा पहिरोको जोखिम धेरै छ ।
यस्तो बेला खानेपानीका स्रोतहरु दुषित हुन सक्छ । भल बाढीले बगाएर ल्याएका अनेकन फोहोरहरु पानीमा मिसिन गई खानेपानीको स्रोत दुषित हुने हुँदा यत्तिबेला बिशेष ख्याल राख्नुपर्दछ । खानेपानी शुद्धिकरण नगरी पिउँदा यस्तोबेला महामारी फैलन सक्ने खतरा धेरै हुने क्षेत्रका जानकारहरु बताउँछन् ।
बाढीग्रस्त क्षेत्रमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, जण्डिस, लेक्टोस्पाइरोसिस (मुसाको पिसाबबाट सर्ने रोग), फुड प्वाइजनिङ्ग, लगायतका रोगहरु फैलिन सक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार बाढी पहिरोका बेलामा मानिसहरुमा झाडापखालाको जोखिम बढी हुने गर्छ । त्यस्तै, टाइफाइड जण्डिसको संक्रमण पनि बढी हुने गर्छ । यस्ता रोगबाट बच्न खानेपानीमा विशेष ध्यान दिनुपर्ने डा। पुनको भनाइ छ ।
बाढी पहिरोसँगै स्वास्थ्यमा पार्न सक्ने प्रभाव
– झाडापखाला
– टाइपाइड
– जण्डिस
– लेक्टोस्पाइरोसिस
– फुड प्वाइजनिङ्ग
– फ्लुबाट सर्नुसक्ने रोग
बच्ने उपायहरु
– पानी शुद्धिकरण गरेर मात्र पिउने । अक्वाट्याब वा पियूष हालेर वा उमालेर पानीलाई शुद्धिकरण गर्न सकिन्छ ।
– खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने ।
– भीड तथा हुलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने ।
– आफू बस्ने ठाँउ वरिपरि राम्ररी सरसफाई गर्ने ।
– शौचालयमा मात्र दिसापिसाब गर्ने ।
– टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुने लगायतका विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा गएर जँचाइहाल्ने ।
थाहा पाउनै पर्ने केही कुराहरु
– बाढी र पहिरोका कारण खानेपानीको मुहान दुषित हुने गर्छ ।
– वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका तथा दीर्घकालीन रोग भएकाहरु गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
– यस्तो बेलामा सरुवा रोगको जोखिम उच्च हुने गर्छ ।
– बाढी प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, हैजा, झाडापखाला, जण्डिस, टाइफाइडको जोखिम उच्च रहन्छ ।


1399 पटक हेरिएको 

