
काठमाडौ : काठमाडौ उपत्यकाको पेट्रोल पम्पका शौचालयहरु सर्वसाधारण सबैका लागि खुला गरिए सार्वजनिक शौचालय अभावको समस्या समाधान हुने देखिएको छ । सार्वजनिक शौचालय सम्बन्धी गुथीले गरेको अध्ययनले सार्वजनिक शौचालयको विकल्पमा पेट्रोल पम्पको शौचालयलाई प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालेको हो ।
गुथीले गरेको अध्ययन अनुसार काठमाडौ उपत्यकामा सार्वजनिक शौचालय भन्दा पेट्रोल पम्पको शौचालय बढी छ । जो पेट्रोल भर्ने क्रममा दिसापिसाब लागेमा सम्बन्धित ग्राहकले मात्र प्रयोग गर्दै आएका छन् । गुथीले काठमाडौ महानगरपालिकामा ५६ वटा पेट्रोल पम्पमा शौचालय रहेको आंकडा निकालेको छ । यस्तै ३७ वटा सार्वजनिक शौचालय, धार्मिक स्थलमा २२ वटा र कमर्सियल भवनमा १७ वटा शौचालय छन् । यस्तै सरकारी भवनका ५ र, पार्कमा ५ र अस्पतालका ९ वटा शौचालयमा सर्वसाधारणको पहुँच पुग्न सक्ने गुथीले जनाएको छ ।
यस्तै ललितपुर महानगरपालिकामा १० वटा सार्वजनिक शौचालय, ५ वटा धार्मिक स्थलका शौचालय, ८ वटा सरकारी भवनमा, २ वटा पार्कमा, ५ वटा कमर्सियल भवनमा, ७ वटा अस्पतालमा र १८ वटा पेट्रोल पम्पमा शौचालय रहेको आँकडा गुथीले निकालेको छ ।
किर्तिपुर नगरपालिकामा भने १० वटा सार्वजनिक शौचालय, २ वटा धार्मिक स्थलका शौचालय, २ वटा सरकारी भवनका, १ वटा पार्कका, १ वटा कमर्सियल भवनका, २ वटा अस्पतालका र २ वटा पेट्रोल पम्पका गरी २० वटा शौचालय रहेको तथ्याङ्क निकालेको छ ।
गुथीले काठमाडौ र ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका तथा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा भएका सार्वजनिक शौचालय, धार्मिक स्थल शौचालय, सरकारी भवन, पार्क, कमर्सियल, अस्पताल र पेट्रोल पम्पमा रहेका शौचालय, त्यसको अवस्था, प्रयोगमैत्री भए नभएको र शौचालयमा हुनुपर्ने न्यूनतम पूर्वाधार भए नभएको अवस्थाबारे अध्ययन गरेको थियो ।


1344 पटक हेरिएको 

