लमजुङ : २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बेँसीशहर बजार सरसफाइ गरिएको छ । बेसीशहर बजारलाई सफा सुन्दर बनाउनका निम्ति मनाङ्गे चौतारादेखि शेराचौतारासम्मको भित्री सडकमा रहेको फोहोरमैला उठाउँदै सरसफाइ गरिएको हो ।
जिल्ला युवा समिति लमजुङको समन्वयमा लायन्स क्लब लमजुङ, लमजुङ जेसिज र नव गठित लियो क्लब अफ लमजुङको आयोजनामा बजार सरसफाइ गरिएको हो । मानव सभ्यता र सचेतना बिकास गर्ने र सफा, सुन्दर टोल निर्माणका लागि सबै जागरुक भएर लाग्न सके मात्र सफा, स्वच्छ बातावरण तथा बजार सुन्दर बनाउन सकिने भएकाले सांकेतिक रुपमा यो अभियान शुरु गरिएको समितिका अध्यक्ष बिवश बुढाथोकीले बताउनुभयो ।
सरसफाइका क्रममा घर, पसल तथा स्कुल अगाडीका सडक र सडकपेटीमा चुरोटका बट्टा, चाउचाउ, बिस्कुट तथा चकलेटका खोल, प्लाष्टिक लगायतका सामाग्रीहरु भेटिएको थियो ।
यस कार्यक्रममा गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, आयोजक क्लबका अध्यक्ष तथा प्रतिनिधि लगायतको सरसफाइ गरेको थियो ।
यस्ता अभियानले नगरवासीहरुलाई सरसफाइ गर्नुपर्दो रहेछ भन्ने सन्देश पुग्ने सरसफाइ कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय नारा “शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवद्र्धन भन्ने नाराका साथ उक्त दिवसको अवसरमा जिल्लामा साउन २१ गतेबाट विभिन्न कार्यक्रमको आयोजना गर्दै युवा सप्ताह मनाईरहेको छ ।
संयुक्त राष्ट्र सघंले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । लमजुङमा भने २०७३ सालबाट मात्रै यस दिवस मनाउन थालिएको हो । यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘शिक्षामा रुपान्तरण’ तय गरिएको छ ।