दोलखा भीमेश्वरको बोचलाई नमुना स्वस्थ समुदाय बनाईदै

 

दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ८ बोचलाई नमुना स्वस्थ समुदाय बनाइने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र सामुदायिक विकास मञ्च नेपालको सहकार्य एवं भीमेश्वर नगरपालिका दोलखाको समन्वयमा बोचलाई नमुना स्वस्थ समुदाय बनाउन लागिएको हो ।

अभियानको सुरुवात भएको घोषणा र स्थानीयबासीलाई प्रोत्साहन गर्न एक औपचारिक कार्यक्रम गरी परियोजना मार्फत खानेपानी फिल्टरको समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले स्थानीयबासीलाई फिल्टर हस्तान्तरण गर्दै समृद्ध भीमेश्वर निर्माणका लागि सरसफाइ र स्वच्छतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मेयर केसीले स्वच्छता विकास भएमा इज्जत र आम्दानी दुवै बढ्ने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभयो । भीमेश्वर नगरपालिकाले बोचलाई आर्थिक, पर्यटकीय र विकासका हिसाबले प्राथमिकतामा राखेर अघि बढाएकोले सबै जनताले साथ दिनुपर्ने बताउनुभयो ।

 

 

कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले परियोजनाले समुदायमा कार्यरत सहकारी संस्थालाई साथ साथै लैजाने सोच निकै राम्रो भएको बताउनुभयो । उहाँले जिल्ला सहकारी संघ मार्फत जिल्लाभरिकै सहकारीले यस्ता अभियानमा साथ दिने र जिल्लाबासीलाई स्वस्थ रहन सचेत गराउने कुरामा आफूहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बोचमा कार्यरत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र बस्नेत र मिलीजुली बचत तथा ऋण सहकारी संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले आफूहरु पनि  सरसफाइ महाअभियानमा सरिक हुने जानकारी दिनुभयो ।

बोचबासीसँग विगतदेखि वर्तमान र भविष्य सम्म लामो सम्बन्ध र सहकार्य भएकाले नमुना स्वस्थ समुदाय कार्यक्रमलाई सफल बनाउन सिडिएफका कोषाध्यक्ष राजन श्रेष्ठले आग्रह गर्नुभयो ।

यस्तै एन्फोकी सबुना गमालले नागरिकको स्वच्छता नै राष्ट्रको स्वच्छता भएकोले यो अभियान निकै महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा उपस्थित हुने सबैलाई स्वागत गर्दै वडाध्यक्ष नकुल केसीले भीमेश्वर नगरपालिकाको बोचलाई नमुना वडा बनाउन लागि परेको जानकारी दिनुभयो ।

नमुना स्वस्थ समुदाय बोचका अध्यक्ष गोरख बस्नेतले यो कार्यक्रम मार्फत आफूहरुले गाउँको थप विकास गर्न सकिने भएकाले निकै उत्साहित भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार