
काठमाडौ : नेपाल खुला दिसामु्क्त घोषणा तयारी कार्य समूह अन्तर्गतको डकुमेन्टेसन उप समूहको बैठकले स्मारिका प्रकाशन एवं डकुमेन्ट्री निर्माण गर्ने भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागमा बसेको उपसमूहको बैठकले स्मारिकामा के कस्ता बिषयहरु समेट्ने ? स्मारिका मार्फत अन्तर्राष्ट्रिय जगतलाई नेपालको ओडिएफ मुभमेन्टबारे के कुरा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल गरिएको थियो ।
बैठकले नेपाल खुला दिसामु्क्त घोषणा समारोहमा देखाउने गरी पाँच मिनेटको डकुमेन्ट्री समेत तयार पार्ने निर्णय गरेको छ । डकुमेन्ट्रीमा नेपालले खुला दिसामु्क्त क्षेत्र घोषणा गर्ने अभियानको थालनी गर्नुपर्ने कारण, राजनीतिक एवं नीतिगत रुपमा गरिएको काम, संस्थागत संरचना र पाएको सफलताको बिषयलाई समेट्ने बिषयमा छलफल एवं निर्णय गरिएको बैठकमा सहभागी डकुमेन्टेसन उपसमूहका फोकल पर्सन एवं विभागका समाजशास्त्री कमल अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा स्मारिका प्रकाशन एवं डकुमेन्ट्री निर्माण गर्ने बिषयमा कस्तो विधि एवं प्रक्रिया अबलम्बन गर्ने बिषयमा पनि छलफल भएको थियो । यस बिषयमा अर्को बैठकमा निर्णय गरिने फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो ।


1031 पटक हेरिएको 

