
काठमाडौ : नेपाल खुलादिसामुक्त घोषणा (ओडिएफ) तयारी कार्यसमूहले खुला दिसामुक्त घोषणा गर्न बाँकी ११ जिल्लाहरुको खुला दिसामुक्त अभियानलाई सघाउन गठित सहजीकरण टोलीलाई सक्रिय बनाउने निर्णय गरेको छ ।
तयारी समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा बसेको बैठकले ११ जिल्लाका लागि तोकिएका सहजीकरण टोलीका संयोजकहरुबाट दैनिक प्रगति विवरण माग्ने निर्णय भएको अनुगमन समितिका सदस्य मुक्ति पोखरेलले जानकारी दिनुभयो ।
यसअघि नेपालको खुलादिसामुक्त अभियानलाई तीब्रता दिने उद्देश्यले गत साउन ७ गते बसेको बैठकले सम्बन्धित जिल्लाका डिवाससीसी प्रमुख एवं सरोकारवाला सँग समन्वय र सहजीकरण गर्नका लागि ११ वटै जिल्लाको सहजीकरण टोलीको संयोजक तोकिएको थियो ।
कुन जिल्लाका लागि को ?
भोजपुर – सुरतलाल चौधरी
सोलुखुम्बु – राजकुमार शाक्य
दोलखा – नन्दलाल बन्जाडे
काठमाडौ – महेश्वर घिमिरे
सिन्धुपाल्चोक – लक्ष्मी उपाध्याय
धनुषा – अरुण सिम्खडा
महोत्तरी – राजेश कुश्वाहा
सर्लाही – कविन्द्र विक्रम कार्की
पर्सा – देवेन्द्र कुमार झा
बारा – विनोद कुमार भुजेल
र कपिलबस्तु – शालिकराम पौडेल
ओडिएफ गर्न बाँकी जिल्लाको प्रगति समीक्षा
बैठकमा खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लामा के कति प्रगति हासिल भएको छ भन्ने बिषयमा समेत समीक्षा भएको थियो । बारा, पर्सा, धनुषा र महोत्तरीमा करिब ३ हजार चर्पी मात्र बन्न बाँकी रहेको र सर्लाहीमा ८० वटा चर्पी मात्र बनाउन बाँकी रहेको प्रतिवेदन सरोकारवाला निकायले बुझाएका थिए ।
यस्तै सिन्धुपाल्चोकका १० स्थानीय तह मध्ये ६ वटा खुला दिसामुक्त घोषणा भईसकेको, २ वटाको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा प्रमाणीकरण भईसकेको र २ वटा प्रमाणीकरणको चरणमा रहेको जानकारी गराईएको थियो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर केसी सहितका पदाधिकारीहरुको उपस्थितिमा गत साउन १६ गते गरिएको अन्तरक्रियामा सिन्धुपाल्चोकलाई साउन ३२ गते नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको थियो ।
फोटो मुक्ति पोखरेलको फेसबुकबाट साभार ।


1016 पटक हेरिएको 

