काठमाडौ : सरकारले खानेपानी मन्त्रालयको सचिवमा माधव बेलवासेलाई ल्याइएको छ । यस अघिका खानेपानी सचिव दिपेन्द्रनाथ शर्मा सेवा निवृत्त भएपछि राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेल्बासेलाई सरुवा गरेर खानेपानी मन्त्रालय ल्याइएको हो । विशिष्ठ श्रेणी पदमा पदोन्नति भएको पाँच वर्ष पुरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था अनुसार शर्मा साउन २२ गते सेवा निवृत्त हुनु भएको थियो ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बेलबासेसँगै १६ जना सचिवहरुको सरुवा गरेको हो । सरकारले भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्य गौतमलाई भूमिसुधार मन्त्रालय ल्याइएको छ ।
यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयबाट सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्याइएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा र वित्त आयोेगका सचिव वैकुण्ठ अर्याललाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालय र ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई भने स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ ।
श्रम मन्त्रालयका सचिव महेश दाहाललाई शिक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा.हरि पौडेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
यता लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तानिएको छ । प्रदेश ३ को प्रमुख सचिव रहेका आनन्द ढकाललाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ भने प्रदेश ५ को प्रमुख सचिवका रुपमा रहेका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।


1392 पटक हेरिएको 

