
मनिराज पाण्डे
कालिकोट : बुधबार, दिउँसोको ११ बजे । जनजागरण आधारभूत बिद्यालय नाइबाडाका विद्यार्थी आ आफ्नै तालमा थिए । कोही घर जाँदै त कोही घरबाट फर्किदै थिए । कक्षा २ र ३ का बिद्यार्थीहरु भने कोही किताब पल्टाउँदै थिए अनि कोही भने खेल्दै । बर्खे बिदा सकिए पनि सबै शिक्षक भने बिद्यालयमा थिएनन् ।
दुई जना स्थानीय शिक्षक अफिस कोठामा बसेर बिद्यार्थी हाजिरी हेर्दै थिए । स्थानीय सरसफाइ तथा स्वच्छता प्रर्वद्धक भरत बम बिद्यालयमा पुगेर कक्षा २ र ३ का विद्यार्थीहरु माझ बिद्यालयको सरसफाइ तथा स्वच्छता अवस्था बारे छलफल गर्न थाल्नुभयो ।

वास प्रर्वद्धक भरत बम : जुटको कार्पेट माथि छताछुल्ल देखिएका कागजका टुक्राहरु देखाउदै ‘के यो कक्षा कोठा सफा छ ?’
बिद्यार्थीहरु : छैन सर ।
वास प्रर्वद्धक : कक्षा कोठा सरसफाइ नहुँदा के हुन्छ ?
बिद्यार्थीहरु : हामीलाइ रोग लाग्छ सर ।
वास प्रर्वद्धक : के – के रोग लाग्छ ?
बिद्यार्थीहरु : ज्वरो आउँछ, चिलाउन्छ, पखाला चल्छ, झाडाबान्ता हुन्छ सर । अन्त्यमा मर्न पनि सक्छ ।
बिषय परिर्वतन गर्दै उहाँले फेरि सोध्नुभयो,
वास प्रर्वद्धक : बिद्यालयमा शौचालय छ ?
बिद्यार्थीहरु : छ सर ।
वास प्रर्वद्धक : कस्तो छ ?
बिद्यार्थीहरु : राम्रो छ सर ।
वास प्रर्वद्धक : शौचालय भित्र पानी, ब्रस र शौचालय सफा गर्ने सामाग्री छन् ?
बिद्यार्थीहरु : छैन सर ।
वास प्रर्वद्धक : शौचालय गन्नाउन्छकि नाइ ?
बिद्यार्थीहरु : गन्नाउन्छ सर ।
वास प्रर्वद्धक : शौचालय गएपछि हात धुने स्थान छ ?
बिद्यार्थीहरु : सबैको संयुक्त आवाज आयो । घरमा छ बिद्यालयमा छैन सर ।
स्थानीय सरसफाइ स्वच्छता प्रर्वद्धक र बिद्यार्थी बीचको यो सम्बादले बिद्यालयको खानेपानी सरसफाइ तथा स्वच्छताको अवस्था प्रष्ट पारेको छ ।
नाइवाडाको जनजागरण आधारभूत बिद्यालय प्रतिनिधिमुलक बिद्यालय मात्र हो । यहाँका २८ वटा आधारभूत बिद्यालय र ५ वटा माध्यामीक बिद्यालय स्वच्छता शौचालय तथा हातधुने स्थान छैनन् । पलाँता गाउँकार्यपालिकाले यसै बर्ष बिद्यालय सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ पारित गरेको छ ।
तीन तारे कार्य प्रद्धति रहेको कार्यबिधि अनुसार बिद्यालयमा आवश्यकता अनुसार खानेपानी, शौचालय, सरसफाइ तथा स्वच्छता कार्यक्रमहरु संचालन गरिने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताउनुभयो ।
पलाँता ९ को श्री सरस्वती माध्यामिक बिद्यालयमा प्रयोगमैत्री शौचालय, हातधुने स्थान र भैरव आधारभुत बिद्यालयमा धातधुने स्थान वाटर एडको सहयोगमा किर्डाक नेपाल कालिकोटले सम्पन्न गरेको छ । जनजागरण आधारभुत बिद्यालयमा ५ जना शिक्षक छन् भने ८७ जना बिद्याथी अध्यायनरत छन् ।
बिद्यालयमा शुद्ध खानेपानी, प्रयोगमैत्री शौचालय, साबुनपानीले हातधुने स्थान र सरसफाइ नहुने हो भने बिद्यार्थीलाई झाडापखाला,जन्डीस, कमलपित्त, जुका आउँ जस्ता रोगहरुको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कटक महत बताउनुभयो ।
बिद्यालयमा पानी जम्ने खाल्डा खुल्डी भएमा लामखुट्टेले टोकेर औलो तथा कालाजोर समेत हुन सक्छ । पलाँतामा औलो तथा कालाजारका ४ जना बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पलाँता ७ र ८ मा किर्डाक नेपालले वाटर एड र पलाँता गाउँपालिकाको आर्थिक सहयोगमा दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना संचालन गरिरहेको छ । परियोजनामा कार्यरत स्वच्छता प्रवद्र्धकहरुले गाउँ टोलमा र घर दैलोमा पुगेर हातधुने तरिका, हातधुने स्थान, शौचालय सुधार, घरआँगन सरसफाइ, कहिने तथा नकुहिने फोहोरको ब्यवस्थापन गर्न सहजिकरण गरिरहेको स्थानीय स्रोत ब्यक्ति पार्वती कुमारी बमले बताउनुभयो ।
महिनाको एक पटक टोल–टोलमा पुगेर सरसफाइ तथा स्वच्छता प्रर्वद्धकले २० देखि २५ जनाको समुहमा सरसफाइ तथा स्वच्छता कक्षा संचालन गरिरहेका छन् ।
पलाँता ७ र ८ का केही बस्तीहरुमा किर्डाक नेपालले गरेको सर्बेक्षण अनुसार ३ सय ८३ घरधुरी मध्ये १ सय ३ घरधुरीमा शौचालय छैन । यहाँका ५० प्रतिशत भन्दा बढी बिद्यालयमा शौचालय नभएको, ९० प्रतिशत बिद्यालयमा मात्र हातधुने स्थान नभएको र ४० प्रतिशत बिद्यालय खानेपानी अभाव रहेको पलाँताका शिक्षा प्रमुख रणप्रसाद भट्टले बताउनुभयो ।


1349 पटक हेरिएको 

