
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले यसबर्ष फेडवासन वास पत्रकारिता पुरस्कारबाट सम्मानित हुने ४ जना पत्रकारको नाम सार्वजनिक गरेको छ । फेडवासनको स्थापना दिवसको अवसरमा दिईदै आएको फेडवासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार रामकुमार एलन, रेडियो तर्फ सामुदायिक सूचना नेटवर्कका राजन रुचाल, पत्रपत्रिका तर्फ कान्तिपुर दैनिकका बझाङ सम्बाददाता वसन्तप्रताप सिं र अनलाइन तर्फ लोकान्तर डट कम का गगन अर्याललाई सम्मान गर्ने निर्णय गरिएको हो ।

फेडवासनले वास पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि देशभरिका टेलिभिजन, रेडियो, पत्रपत्रिकाका तथा अनलाइनमा कार्यरत पत्रकारहरुबाट २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्ममा प्रकाशित तथा प्रसारित समाचारका प्रतिलिपिहरु माग गरेको थियो । प्राप्त आवेदकहरु माझबाट फेडवासनले गठन गरेको स्वतन्त्र निर्णायक मण्डलद्वारा पुरस्कृत हुने पत्रकारहरुको नाम चयन गरिएको फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
देशभरिबाट आएका आवेदकहरुलाई केलाएर स्वतन्त्र निर्णायक मण्डलले कथावस्तु चयन, प्रस्तुतिको ढाँचा र दिन खोजिएको सन्देश आदिलाई आधार मानेर अंकन गर्दा सबैभन्दा बढी अंक प्राप्त पत्रकारहरुलाई चयन गरिएको निर्णायक मण्डलका संयोजक एवं सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुबास खतिवडाले जानकारी दिनुभयो ।
पुरस्कृत पत्रकारहरुलाई फेडवासनको स्थापना दिवसको अवसर पारी पर्सि मंगलबार पुरस्कृत गरिने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । यही भदौं १० गतेदेखि फेडवासन १६ बर्ष पूरा गरी १७ औं बर्षमा प्रवेश गर्दैछ ।
फेडवासनले खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा कलम चलाउँदै आएका देशभरिका पत्रकारहरु मध्येबाट टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन तर्फका एक एक जना गरी ४ जना पत्रकारलाई बर्षेनी पुरस्कृत गर्दै आएको छ ।


2251 पटक हेरिएको 

