प्रदेश ५ मा फोहोरबाट बिजुली : कहाँ, कति युनिट निस्कन्छ ?

रूपन्देही : प्रदेश ५ सरकारले फोहोरबाट बिजुली निकाल्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । त्यसका लागि आवश्यक अध्ययन भइसकेको र प्रारम्भिक काम सुरु भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

०७५ माघबाट सुरु गरिएको अध्ययन गत असार १० मा सकिएको हो । प्रदेशभर प्रतिदिन १ सय ३७ देखि ४ सय ५९ युनिटसम्म विद्युत् उत्पादन हुने सम्भावना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय ऊर्जा शाखाका इन्जिनियर सूर्यदेव गुप्ताले बताउनुभयो ।‘गुल्मीको रेसुंगामा सबैभन्दा बढी फोहर संकलन हुन्छ,’ उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापन चुनौतीको पाटो हो । अध्ययन भएका स्थानीय तहले सहकार्यमा साथ दिए सोही अनुसार छनौट हुन्छ ।’

कहाँ कति युनिट बिजुली निस्कन्छ ?

मन्त्रालयले गरेको अध्ययन अनुसार रेसुंगा नगरपालिकामा प्रतिदिन ४ सय ५७ युनिट विद्युत् उत्पादन हुने देखिन्छ ।

यस्तै कपिलवस्तुको बुद्धभूमिमा ३ सय ३० युनिट

रूपन्देहीको देवदहमा २ सय ६० युनिटसम्म

नवलपरासी पश्चिमको सुनवल नगरपालिकाबाट १ सय ७७ युनिट

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट २ सय १६ युनिट

रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट १ सय ८३ युनिट

प्यूठानको स्वर्गद्वारी नगरपालिकाबाट १ सय ५३ युनिट

बाँकेको नरैनापुर नगरपालिकामा १ सय ४६ युनिट

बर्दियाको मधुवन नगरपालिकामा २ सय १४ युनिट

दाङको लमही नगरपालिकामा २ सय १४ युनिट

पाल्पाको रामपुर नगरपालिकामा १ सय ६४ युनिट

 

बिजुली प्रतिदिन फोहोरबाट उत्पादन हुने अध्ययनले देखाएको इन्जिनियर गुप्ताले बताउनुभयो । ।

 

प्रदेशभरि प्रशस्त फोहोर उत्सर्जन भए पनि फोहोर बर्गीकरणमा समस्या भएकाले फोहोरबाट बिजुली निकाल्ने काम चुनौतीपूर्ण देखिएको भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताउनुभयो  ।

‘सडने, गल्ने फोहर, प्लास्टिक र मेटलयुक्त फोहरको डम्पिङ फरक–फरक स्थानमा गर्ने चेतना नागरिकमा नहुँदा चुनौतीपूर्ण देखिएको हो,’ उहाँले भन्नुभयो, ‘वर्गीकरण नगरी ऊर्जा उत्पादन गर्न सम्भव छैन ।’

नागरिकमा चेतना ल्याएर छुट्टाछुट्टै जम्मा गर्न सके मात्र त्यसको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा यसका लागि काम गर्ने उहाँले बताउनुभयो ।

१२ जिल्लामै सम्भाव्यता अध्ययन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले यस वर्ष ९० लाख रुपैयाँ बजेट विनियोजन गरी फोहरबाट ऊर्जा उत्पादनको काम सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार