
दोलखा : प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताउनुभयो ।
दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरमा शौचालय निर्माण भई प्रयोगमा आउने थालेपछि जिल्लालाई खुलादिसामुक्त घोषणा गरिएको हो । दोलखा खुला दिसामुक्त घोषणा हुने जिल्लामा ६७ औं स्थानमा परेको छ ।

‘खुला दिसामुक्त जिल्ला दोलखाबासीको शान, दोलखालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले खुला दिसामुक्त घोषणा भएका जिल्लामा पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताउनुभयो । सो अवसरमा उहाँले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकांश जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, भोजपुर, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।



1514 पटक हेरिएको 

