असोज १३ मा नेपाललाई खुलादिसामुक्त घोषणा गर्ने

काठमाडौ : नेपाललाई असोज १३ गते जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने बिषयमा सबै पक्ष सहमत भएका छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको प्रगति र नेपाललाई खुला दिसामुक्त घोषणा गर्न भईरहेको आन्तरिक तयारीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्न सकिनेमा सरोकारवाला विश्वस्त भएका हुन् ।

यद्यपि .खुला दिसामुक्त राष्ट्र घोषणाका लागि विभागीय मन्त्रालय र सरकारको उपल्लो तहसँग समेत समन्वय गर्नुपर्ने भएकाले खुला दिसामुक्त घोषणाको मिति भने तय भईसकेको छैन ।

नेपाल ओडिएफ तयारी कार्यसमूहको आज बसेको बैठकमा पनि नेपाललाई असोज १३ गते जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्नुपर्ने आवाज उठेको थियो । यसका लागि विभागीय मन्त्रालयसँग समन्वय गर्ने, फोकल पर्सनहरुको कामलाई अझ प्रभावकारी तुल्याउने र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुका लागि खुला दिसामुक्त घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बिषयमा छलफल भएको अनुगमन समितिका सदस्य मुक्ति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको अवस्थाका बिषयमा समेत व्यापक छलफल भएको थियो । छलफलमा अहिलेसम्म हरेक जिल्लाको गतिविधि तीब्र रुपमा अगाडि बढिरहेको र भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्न सकिने निचोडमा पुगेको थियो ।

विहीबार दोलखालाई घोषणा गरेपछि अब खुलादिसामुक्त घोषणा गर्न १० जिल्ला मात्र बाँकी छ । भोजपुरलाई पिवाससीसीले अनुगमन एवं प्रमाणीकरण गरेपछि खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्नेछ । यस्तै सोलुखुम्बु, धनुषा, महोत्तरी, सर्लाही, कपिलबस्तु, सिन्धुपाल्चोक, बारा, पर्सा र काठमाडौ पनि खुलादिसामुक्त घोषणाको पाइपलाइनमा छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार