
काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गरी प्रमाणीकरण एवं अनुमति प्रदान गर्न प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) लाई अनुरोध गर्ने भएको छ । डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न पिवाससीसीलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।
आज बसेको बैठकले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने अनुमति समेत प्रदान गरिएको छ । डिवाससीसीले अनुमति प्रदान गरेसँगै काठमाडौ महानगरपालिकालाई यही भदौ २४ गते खुला दिसामुक्त घोषणा गर्ने मिति तय भईसकेको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौ महानगरपालिका यही भदौ २४ गते खुला दिसामुक्त घोषणा हुने बताउनुभयो । ‘डिवाससीसीबाट अनुमति प्राप्त गर्न मात्र बाँकी थियो, अन्य कामहरु निरन्तर भईरहेका छन् । डिवाससीसीबाट अनुमति पनि प्राप्त भयो अब २४ गतेदेखि महानगर खुला दिसामुक्त बन्छ’ उहाँले भन्नुभयो ।

नेपाललाई आगामी असोज १३ गते भित्र खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी छ । सोही अनुरुप खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लामा चर्पी निर्माणको अभियानलाई तीब्र पारिएको छ ।
हालसम्म देशका ६७ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, कपिलबस्तु, काठमाडौ, भोजपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक गरी १० जिल्लामा ओडिएफ गर्न बाँकी छ ।



874 पटक हेरिएको 

