
काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइ अभियानमा थप गति दिन केन्द्रबाट चार सदस्यीय टोली परिचालन गरिएको छ । युएन ह्याबिट्याटका सामाजिक विश्लेषक मदन मल्ल, सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह र स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इन्जिनियर महेश्वर घिमिरेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
टोलीले खुलादिसामुक्त घोषणा गर्न बाँकी प्रदेश २ का जिल्लाहरु बारा, पर्सा, महोत्तरी, सर्लाही र धनुषाका स्थानीय सरकारका प्रमुख, पिवाससीसीका पदाधिकारीहरुसँग विशेष छलफल गर्ने कार्यक्रम छ । टोलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सँग भेटघाट गरी प्रदेश २ का जिल्लाहरुलाई यथासीघ्र खुला दिसामुक्त घोषणा गर्ने बिषयमा छलफल गर्ने कार्यक्रम रहेको केन्द्रीय अनुगमन टोलीका सदस्य मुक्ति पोखरेलले जानकारी दिनुभयो ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा देखिएका साना तिना समस्यालाई आन्तरिक तवरबाटै हल गरी भदौ महिना भित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न टोलीको जोड हुनेछ ।
यस्तै एक टोली आजै पूर्वी पहाडी जिल्ला भोजपूर जाने कार्यक्रम रहेको छ ।

तस्बिर : विनोद शर्माको फेसबुकबाट ।


1201 पटक हेरिएको 

