दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्न थालेको छ । उपमहानगरपालिकाको ल्याण्ढफिल साइटमा जम्मा गरिएको फोहोरबाट ग्यास निकाल्न थालिएको हो । विश्व बैंक, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी बीच त्रिपक्ष सहकार्यसँगै फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो ।
ग्यास उत्पादन गर्नका लागि करिब २० करोड लगानी लाग्ने बताइएको छ भने उक्त ग्यास प्लान्ट २ हजार घन मिटरको रहने छ । जसबाट ग्यास सिलिण्डरमा भरेर बजारमा पठाइने छ ।
ग्यास उत्पादनका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भइरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो । अबको ६ महिनामा भौतिक निर्माण कार्य सकिने उहाँको भनाइ छ । ६ महिना भित्रमा ग्यास उत्पादन गर्ने गरी काम अगाडि बढाइएको म्यानेजर श्रेष्ठले बताउनुभयो । “हामीले काममा कुनै समस्या नआएमा १ वर्षभित्रमा ग्यास उत्पादन गर्ने सुरु गर्नेछौं,” श्रेष्ठले भने । त्रिपक्षीय सम्झौता गएको २०७५ मंसिर ५ गते नै भएपनि विभिन्न प्राविधिक कारणले केही ढिला भएको उहाँले बताउनुभयो ।
फोहोरबाट ग्यास निकाल्ने भएपछि स्थानीय बासिन्दाले केही समस्या उत्पन्न गराएका थिए । आफ्नो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीय बासिन्दाले विरोध जनाएपछि काम सुरु गर्न समस्या भएको थियो । तर कम्पनीले पोखरा लगेर देखाएपछि ग्यास उत्पादन प्रक्रियाबारे थाहा पाएको र विरोध गर्न छाडेको कम्पनीले जनाएको छ । अब कामले गति लिने कम्पनीले अपेक्षा गरेको छ ।
ग्यास उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको प्लान्टका म्यानेजर श्रेष्ठले बताउनुभयो । घोराही उपमहानगरपालिकाले ल्याण्डफिल साइटमा रहेको साढे २ बिघा जग्गा उपलब्ध गराएको छ ।
कम्पनी र नगरपालिका बीच २० वर्षको सम्झौता भएको छ । २० वर्षपछि संरचना सहित सबै पूर्वाधार घोराही उप महानगरपालिकालाई हस्तान्तरण गर्ने म्यानेजर श्रेष्ठले बताउनुभयो ।