दौडहा टोलीको प्रभाव : भदौ २७ गते बारा ओडिएफ हुँदै

 

 विनोद महतो

कलैया : सरसफाइ र चर्पी निर्माणको हिसावले २०७५ को मध्यसम्म नेपालमै सबैभन्दा पछि परेको बारा जिल्लाले अहिले एक्कासी सरसफाइमा फड्को मारेको छ । सरसफाइको दृष्टिकोणले पुछारमा रहेको बारा ७७ जिल्लामध्ये रातो रंगले पोतिएको एउटै मात्र जिल्ला हुने गथ्यों ।

तर अब बिगतमा लागेको त्यो दाग हटाउँदै बारा जिल्ला खुला दिसामुक्त घोषणाको नजिकमा पुगेको छ । चर्पी निर्माणको हिसावले अरु केही जिल्लालाई समेत बाराले उछिनेको छ ।

बारा जिल्लामा लागेको रातो दाग हटाउन जिल्लामा सरसफाइ अभियन्ताहरुको रात दिनको अथक प्रयास र मेहनतले सफलताको बाटोतिर अग्रसरता दिलाएको हो । जबदेखि (साउन २७ गतेदेखि भदौ ११ गतेसम्म) जिल्लामा “मिशन बारा ओडिएफ जिल्ला दौडहा टोली” जिल्लाको सबै पालिकाहरुमा अभियानलाई तिव्रता दिन र पालिका ओडिएफ गर्न सहजीकरण गर्न थालियो, तबदेखि अभियानले एक्कासी छलाङ मारेको हो । जसको परिणाम स्वरुप चर्पी निर्माण र घोषणाको क्रममा केही जिल्लालाई बाराले उछिनेको छ ।

 

दौडहा टोलीको प्रभावले चर्पी निर्माण कार्र्य सम्पन्न भएर पनि घोषणा गर्न नसकेको जिल्लाको पालिकाहरु तिथि मिति तोक्दै ओडिएफ घोषणा गर्न थालेको डिवाससीसीका कार्यदल संयोजक विरेन्द्र पण्डितले बताउनुभयो । चर्पी बनाएर पनि विभिन्न कारणले ओडिएफ घोषणा गर्न नसकेका पालिकाहरुले दौडहा टोलीको छलफल र सहजीकरण पश्चात गरेको प्रतिबद्धता र निर्णय अनुसार नै तोकिएको मितिमा ओडिएफ घोषणा गरिरहेको डिवाससीसीका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख नबल किशोर सिंहले बताउनुभयो । सबै पालिकाहरु यही भदौ २५ गतेसम्म ओडिएफ घोषणा गर्ने तालिका रहेको उहाँले बताउनुभयो ।

 

यसै क्रममा विहीबार (आज) जिल्ला समन्वय समिति कलैयामा बारा जिल्ला ओडिएफ घोषणा पूर्व बसेको सरसफाइको राष्ट्रिय टोली सहितको बृहत तयारी बैठकले यही भदौ २७ गते बारा जिल्लालाई खुल्ला दिसामुक्त (ओडिएफ) घोषणा गर्ने निर्णय गरेकोे छ । डिवाससीसीले आजै देखि जिल्ला घोषणाको तयारी सुरु गरिएको र यसको लागि विभिन्न समिति, उपसमितिहरु समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको डिवाससीसीका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

 

बारा जिल्लामा रहेको १० लाख ५ हजार १५ घरधुरी मध्ये ९९.५ प्रतिशत घरधुरीमा चर्पी निर्माण भईसकेको छ भने केही पालिकामा मात्र चर्पी निर्माण गर्न बाँकी छ । बनाउन बाँकी ०.५ प्रतिशत घरधुरीमा चर्पी निर्माण कार्य तिव्र पारिएकोले भदौ २५ गतेभित्र सबै पालिकाको घोषणा भईसक्ने र २७ गते जिल्ला घोषणा गर्ने मिति तोकेर तयारी थालिएको डिवाससीसीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार