सिन्धुपाल्चोक : सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) सिन्धुपाल्चोकले आयोजना गरेको घोषणा सभामा सिन्धुपाल्चोकलाई आज ६८ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको हो । घोषणा सभाका प्रमुख अतिथि खानेपानीमन्त्री बिना मगर हुनुहुन्थ्यो । यस्तै पूर्व कानुनमन्त्री एवं सांसद शेरबहादुर तामाङ, सिन्धुपाल्चोकका अन्य सांसद एवं जनप्रतिनिधी र स्थानीय बासिन्दा एवं विद्यालयका शिक्षक शिक्षिका र छात्रछात्राको समेत उपस्थिति थियो ।
सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहलाई खुला दिसामुक्त गरी जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिले सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गर्न सफल भएको जिल्ला समन्वय समितिका प्रमुख एवं डिवाससीसी अध्यक्ष कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु अघि खानेपानी बिना मगर स्थानीय बासिन्दाले निकालेको र्यालीमा समेत सहभागी हुनुभयो ।

२०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गर्नै अन्तिम तयारी भइरहँदा भुकम्पले अभियान रोकिएको थियो । भुकम्पपछि नीजि आवास पुननिर्माण सँगै सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गरिएको हो । भुकम्पपछि अहिले जिल्लामा ७५ हजार हारहारीमा निजी आवास निर्माण भएको छ । विद्यालय लगायत अन्य सरकारी तथा निजी घरहरुमा पनि व्यस्थित शौचालय निर्माण भएकाले सबै प्रक्रिया पुरा गरेर खुला दिसामुक्त जिल्ला घोषणा गरिएको डिवाससीसी अध्यक्ष तामाङले बताउनुभयो ।

सरकारले असोज १३ गते देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । सोही बमोजिम खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाले धमाधम खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेका छन् । भदौ मसान्तभित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरी असोज १३ गते राष्ट्रलाई नै खुलादिसामुक्त घोषणा गर्ने राष्ट्रिय योजना रहेको छ ।
फोटो : मोहन रेग्मीको फेसबुकबाट ।


1689 पटक हेरिएको 

