सिन्धुपाल्चोक : खानेपानीमन्त्री बिना मगरले नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरी दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनाईने बताउनुभएको छ । प्रदेश ३ को सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्नमा कसैले रोक्न नसकिने बताउनुभयो ।
‘नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ । दक्षिण एसियाका भारत लगायत अरु देशहरु पनि खुला दिसामुक्त अभियानमा छन् तर, नेपालको अभियान अरु देशको भन्दा पृथक छ अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन् ।
तर नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सहभागी भएका छन् । खुला दिसामुक्त घोषणा अभियान एक सामाजिक अभियान हो । यो अभियानलाई हामी महाअभियानको रूपमा अघि बढाउदै पूर्ण सरसफाइको अभियानमा गुरुयोजना बनाएर काम गर्दैछौं’ मन्त्री मगरले भन्नुभयो ।

जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि मन्त्री मगरको आतिथ्यमा सिन्धुपाल्चोकलाई शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् ।
खुला दिसामुक्त घोषणा समारोहमा प्रतिनिधि सभाका सांसद एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लालाई खुला दिसामुक्त जस्तै खानेपानी समस्या मुक्त जिल्ला बनाउनुपर्ने माग गर्नुभयो ।
यस्तै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमान सिंह तामाङले सिन्धुपाल्चोकलाई आर्थिक समृद्धिको जिल्लाको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, भोजपुर, काठमाडौँ र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी छ ।
सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि अहिलेसम्म ६८ वटा जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । बाँकी ९ वटा जिल्लालाई समेत यही भदौ मसान्तभित्रै खुलादिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ ।


2305 पटक हेरिएको 

