सामाजिक संस्थाहरुमा एन्फो अब्बल श्रेणीको संस्था : निर्देशक भट्टराई

 

काठमाडौ : समाज कल्याण परिषदका निर्देशक रामराज भट्टराईले वैदेशिक सहयोग लिएर सामाजिक काम गर्ने संस्थाहरु मध्ये वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) अब्बल श्रेणीको संस्था भएको बताउनुभएको छ । एन्फोको २८ औं बार्षिक साधारण सभाको विशिष्ट अतिथि समेत रहेका भट्टराईले एन्फोले वातावरण र जनस्वास्थ्यको क्षेत्रमा स्थापनाकाल देखि हालसम्म सम्पादन गर्दै आएको कामहरुको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

‘परियोजना मूल्याङ्कनको क्रममा हामीले सुझाव दिने गरेका छौं, संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरुले जनतासँग सरोकार राखोस्, स्थानीय सरकारसँग सम्बन्ध स्थापित गरोस्, किनकि संस्थाका कार्यक्रमहरु सीमित अवधिको लागि हुन्छ तर स्थानीय सरकारसँग सम्बन्ध राख्यो भने जनताको सरोकार राख्ने उक्त कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिन सक्छ र कार्यक्रमहरु दिगो रहन्छ’ उहाँले भन्नुभयो ।

उहाँले संस्थाले सञ्चालन गर्ने जुनसुकै कार्यक्रम सराकारको नीतिलाई सहयोग गर्ने खालको हुनुपर्ने र सरकारको नीतिसँग संस्थाको उद्देश्य मेल खाएको खण्डमा स्थानीय सरकारले अपनत्व ग्रहण गर्ने र त्यो कार्यक्रम दिगो रहने बताउनुभयो ।

उहाँले सामाजिक संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरु गैरसरकारी संस्थाको आवश्यकता नभई जनताको आवश्यकतामा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा वास विज्ञ एवं पूर्व अर्थसचिव सुमन शर्माले आफू सरकारी सेवामा हुँदा र सेवा निवृत्त भएर पनि अनवरत एन्फोसँगै रहेको बताउनुभयो । विगत २८ बर्षदेखि सरकारको सहयोगी हातको रुपमा रहँदै आएको एन्फोले अझ सशक्त योगदान पु¥याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

साधारण सभाको उदघाटन सत्रमा एन्फोका कार्यकारी निर्देशक विपीन डंगोलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै एन्फोका कोषाध्यक्ष प्रकाश अमात्यले आर्थिक बर्ष २०७५/०७६ को आय व्यय विवरण र चालु आर्थिक बर्षको अनुमानित आय व्यय वितरण प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार