जनशक्ति उत्पादनमा जोड दिनुहोस् : उपमहानिर्देशक दुवाडी

 

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक रमाकान्त दुवाडीले खानेपानी तथा ढल व्यवस्थापन विभाग सामाजिक संघसंस्थासँग सधैं सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को २८ औं साधारण सभामा बोल्दै उपमहानिर्देशक दुवाडीले अनुसन्धानमा आधारित भएर गरिएका कामको प्रतिफल राम्रो आउने र यसका लागि सरकारलाई सहयोग गर्न संघसंस्थालाई आग्रह गर्नुभयो ।

उहाँले देश अबको २२ दिन पछि खुला दिसामुक्त घोषणा हुने र त्यसपछि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले अहिलेकै जनशक्ति पर्याप्त नहुने भएकाले खानेपानी र सरसफाइ क्षेत्रमा जनशक्ति उत्पादनमा जोड दिन पनि आग्रह गर्नुभयो ।

‘हामीले खानेपानी र सरसफाइमा राखेको दिगो विकास लक्ष्य हासिल गर्न अहिलेको जनशक्तिले मात्र पर्याप्त हुँदैन र सबै सक्षम पनि छैनन्, त्यसैले एन्फो जस्ता संघसंस्थाले जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्छ, एन्फोले विभिन्न तालिम मार्फत जनशक्ति उत्पादनको काम गरिरहेको पनि छ’ उहाँले भन्नुभयो ।

उपमहानिर्देशक दुवाडीले एन्फोलाई खानेपानी र सरसफाइ क्षेत्रको ज्ञान केन्द्रको रुपमा विकास गर्न पनि आग्रह गर्नुभयो । खानेपानी र सरसफाइको क्षेत्रमा गैरसरकारी संस्थाहरुले पुर्‍याएको योगदानलाई सरकारले गरेको काम भन्दा कम आँक्न नमिल्ने भन्दै उहाँले वास क्षेत्रमा सामाजिक संघसंस्थाले गरेको कामको तारिफ गर्नुभयो ।

खानेपानी र सरसफाइ क्षेत्रको विकासको लागि हिजो पनि सहकार्य गरेको र आगामी दिनमा पनि सहकार्य गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग सदैव तयार रहेको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार