नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक : के भयो खास – खास छलफल ?

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी बहस एवं छलफललाई तिब्र पारिएको छ । आजै नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक बसी खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको अवस्थाबारे छलफल एवं अन्तरक्रिया गरिएको छ ।

नेपाल ओडिएफ तयारी कार्य समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको अध्यक्षतामा बसेको बैठकमा केन्द्रबाट विभिन्न जिल्लाको अनुगमनमा खटिएको टोलीले त्यहाँको वास्तविक विवरण प्रस्तुत गरिएको थियो ।

प्रदेश २ को बारा, पर्सा, महोत्तरी र धनुषाको अवस्थाबारे युएन् ह्याबिट्याटका सामाजिक विश्लेषक मदन मल्ल र स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इञ्जिनियर महेश्वर घिमिरेले जानकारी गराउनुभएको थियो ।

मल्लले प्रदेश २ को चारै जिल्लामा सबै शक्ति परिचालित भएको र भदौ मसान्तसम्ममा सबै जिल्लाले खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको जानकारी गराउनुभयो । उहाँले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँगको भेट र ओडिएफका लागि उहाँले खेल्नु भएको भूमिकाको बारेमा बैठकलाई जानकारी गराउनुभयो ।

यस्तै भोजपुरका लागि खटिनुभएका अनुगमन टोलीका सदस्य मुक्ति पोखरेलले भोजपुर जिल्लाले पनि ओडिएफ गर्न बाँकी भोजपुर नगरपालिकाले यही २६ गते ओडिएफ गर्ने र भदौ मसान्तभित्र जिल्ला ओडिएफ गर्न कुनै समस्या नरहेको जानकारी गराउनुभएको थियो ।

तयारी समूहको बैठकमा भदौ मसान्तभित्र जुनसुकै हालतमा जिल्ला ओडिएफ गरिसक्न डिवाससीसीका पदाधिकारीहरुलाई ताकेता गर्ने र ओडिएफ गर्न बाँकी जिल्लाका लागि खटिएका फोकल पर्सनहरुलाई समेत क्रियाशील बनाउने बिषयमा छलफल गरिएको समूहका सदस्य एवं अनुगमन समितिका सदस्य मुक्ति पोखरेलले जानकारी दिनुभयो ।

नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक भोलि पनि बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार