असोज १३ मा नेपाल ओडिएफ नभए भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने

 

काठमाडौ : नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा नगरे दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो ओडिएफ राष्ट्र बन्ने अवसर गुम्नेछ । नेपालले तोकिएकै समयमा ओडिएफ गर्न नसके भारत दक्षिण एसियाको पहिलो ओडिएफ राष्ट्र बन्ने पक्का छ ।
भारतले आगामी अक्टोबर २ तारिख अर्थात असोज १५ गते खुला दिसामुक्त देश घोषणा गर्ने तिब्र तयारी गरेको छ ।

हालसम्म दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र बन्ने होडमा छ । सरसफाइमा दक्षिण एसियाली राष्ट्रहरुको नेतृत्व गर्दै आएको नेपाल भारत भन्दा अगाडि खुला दिसामुक्त राष्ट्र बन्न चाहेकै कारण असोज १३ लाई खुला दिसामुक्त घोषणाको मिति तय गरिएको हो ।

काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा समारोहमा बोल्दै डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्यले भन्नुभयो ‘हामी दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो खुला दिसामुक्त राष्ट्र बन्न चाहन्छौं, यो राष्ट्रिय सम्मानको बिषय भएकाले यो उपाधि प्राप्तिका लागि सबै नागरिकको दायित्व उत्तिकै हुन्छ ।’

काठमाडौ जिल्ला भदौ ३१ गते ओडिएफ हुने

काठमाडौ जिल्लालाई यही भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिने भएको छ । काठमाडौ महानगरपालिकालाई आज खुला दिसामुक्त घोषणा गरेपछि काठमाडौ जिल्ला खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको हो ।

यसअघि काठमाडौ जिल्लाका १० वटा स्थानीय तह खुला दिसामुक्त घोषणा भएपनि काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा नहुँदा काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सकेको थिएन ।

काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा समारोहमा डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्यले यही भदौ ३१ गते राष्ट्रिय सभा गृहमा भव्य कार्यक्रमको आयोजना गरी काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार