चर्पी बनाउन मरिमेटेर लागेका चौधरीलाई मोटरसाइकल पुरस्कार

बारा : घर बाराकै कोल्बी नगरपालिका १ मा भएपनि उहाँको बास प्रायः सरसफाइ संघर्ष शिविरमै हुने गर्थ्यो । बिहान होस् वा बेलुकी या त रातको समयमा नै किन नहोस् शौचालय बनाउने कुरा भन्दा अरु बिषयमा छलफल हुँदैनथ्यो ।

सधैं चर्पीकै बिषयमा चिन्तन मनन गरिरहने सरसफाइ योद्धा हिरालाल चौधरी अन्ततः कलैया उपमहानगरपालिका खुला दिसामुक्त घोषणा समारोहमा पुरस्कृत हुनुभएको छ । त्यो पनि मोटरसाइकलबाट ।

युनिसेफ नेपालको तर्फबाट कलैया उपमहानगरपालिकामा वास कोअर्डिनेटरको रुपमा कार्यरत चौधरीलाई मेयर राजेश राय यादवले खुला दिसामुक्त घोषणा समारोहमै अपाचे १६० सिसीको बाईक पुरस्कार दिनुभएको हो ।

पुरस्कार प्राप्त गरेपछि वास खबर सँग कुराकानी गर्दै वास कोअर्डिनेटर चौधरीले आफ्नो लागि जीवनकै महत्वपूर्ण प्राप्ति भएको बताउनुभयो । ‘उपमहानगरलाई खुला दिसामुक्त घोषणा गर्न गरिएको कामबाट पुरस्कृत हुन्छु भन्ने सोचेको पनि थिएन, मलाई नसोचेको खुसी मिल्यो’ उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाले दिएको पुरस्कारले अभियानको क्रममा भोगेका सबै दुःखकष्ट भुलेर मन खुसीले भरिएको उहाँको प्रतिक्रिया थियो । ‘चर्पी बनाउन नमान्दा कतिलाई गाली गरियो होला, खुल्लै दिसा गर्नेलाई पुलिस बोलाएर समात्न लगाउँदा कति मानिस रिसाए पनि, तर आज सबै दुःख कष्ट भुलेको छु’ उहाँले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख जक्की अहमद अन्सारीको दृष्टिमा पनि चौधरी अति मेहनती हुनुहुन्थ्यो । ‘उहाँ अति लगनशील हुनुहुन्थ्यो, बिहान बेलुकी जत्तिबेला पनि फिल्डमै भेटिनुहुन्थ्यो । कलैया नगरपालिकालाई ओडिएफ गर्न उहाँले धेरै दौडधुप गर्नुभएको छ, पुलिससँगसँगै हिडेर गस्ती गर्ने, सम्झाउने, कार्वाही गर्न लगाउने, सचेतना अभियान चलाउने, उहाँ कुनै पनि अभियानमा छुट्नु भएको छैन’ डिभिजन प्रमुख अन्सारीले भन्नुभयो ।

चौधरी र टिमले यसअघि १५० सीसीको पल्सर बाईक प्रयोग गर्दै आएको थियो । सरसफाइ संघर्ष शिविरमा १० जनाको टोली हुने र एउटा बाईकले समस्या भईरहेको बेला पुरस्कार पाएको बाइकले सरसफाइ अभियानमा थप सजिलो हुने चौधरीले बताउनुभयो ।

‘सरसफाइ अभियान खुला दिसामुक्त घोषणासँग टुङ्गिने यात्रा होइन, अब पूर्ण सरसफाइको यात्रा सुरु हुन्छ । हामीले यातायातको साधनको अभावमा जत्ति गर्नुपर्ने थियो, त्यो गर्न नसकेको महसुस हुन्थ्यो, अब पुरस्कार स्वरुप पाएको बाइकले थप सजिलो बनाउने आशा छ’ उहाँले भन्नुभयो ।

बाराको कलैया उपमहानगरपालिमा २७ वटा वडा छन् । सरसफाइ संघर्ष शिविरले सहजीकरण गरी एक बर्षको अवधिमा ती सबै वडामा गरी करिब ३ हजार शौचालय बनाउन सफल भएको छ । कुनै समय सरसफाइको पुछारमा रहेको बारा यही भदौ २७ गते खुला दिसामुक्त घोषणा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार