बारा खुला दिसामुक्त घोषणा, चर्पी निर्माणमा डेढ अर्ब लगानी

 

बारा : बारा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको प्रमुख आतिथ्य एवं डिवाससीसी बाराका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा बारालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) बाराले आयोजना गरेको खुला दिसामुक्त घोषणा समारोहमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख एवं डिवाससीसी बाराका सदस्य सचिव जक्की अहमद अन्सारीले जिल्लामा १ लाख ५ हजार १५ घरपरिवारमै चर्पी बनेर प्रयोगमा आईसकेकाले राष्ट्रिय लक्ष्य अनुरुप बारालाई खुला दिसामुक्त घोषणा गरिएको बताउनुभयो ।

 

उहाँले बाराको सरसफाइमा योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार एवं छाक कटाएर समेत चर्पी बनाउन लगानी गर्ने स्थानीयबासिन्दालाई हार्दिक आभार व्यक्त गर्नुभयो ।

 

चर्पी बनाउन स्थानीयको साढे १ अर्ब लगानी

 

खुला दिसामुक्त घोषणा समारोहमा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले चर्पी निर्माणका लागि स्थानीय बासिन्दाले १ अर्ब ३७ करोड लगानी गरेको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाले चर्पीमा गरेको लगानीकै कारण आज बारालाई खुला दिसामुक्त घोषणा गर्न सफल भएको बताउनुभयो ।

उहाँले खुला दिसामुक्त घोषणाको अवस्थामा पुर्‍याउन आ – आफ्नो क्षेत्रबाट पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्न बारा चुनौतीको रुपमा उभिने हो कि भन्ने लागेपनि बाराले प्रदेश २ को चौथो तथा राष्ट्रको ६९ औं खुला दिसामुक्त जिल्लाको पहिचान बनाउन सफल भएकोमा उहाँले बारा जिल्लालाई बधाई दिनुभयो ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’, ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान प्रदेश २ सरकारको अति राम्रो कदम भएको भन्दै उहाँले सरसफाइमा थप फड्को मार्न पूर्ण सरसफाइमा राजनीतिक प्रतिबद्धताको खाँचो औल्याउनुभयो ।

बारा, पूर्ण सरसफाइमा प्रवेश : मन्त्री सोनाल

 

बारा जिल्ला खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथि एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले बारा जिल्ला आजैदेखि पूर्ण सरसफाइमा प्रवेश गरेको बताउनुभयो । अन्य जिल्लाले सरसफाइको यात्रा तय गरिसक्दा बाराले बल्ल खुला दिसामुक्त घोषणा गर्न सफल भएको भन्दै अब सरसफाइ यात्रा नरोकिने बताउनुभयो ।

उहाँले डिवाससीसी अध्यक्ष नवल किशोर सिंह नेतृत्वको टिमले बारा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सफल भएकोमा बधाई दिदै पूर्ण सरसफाइको यात्रामा अझ कुशलता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

उहाँले तराईमा खुला दिसा संस्कारसँग जोडिएको बिषय भएकाले यसलाई तोडेर सानो चर्पी भित्र सिमित पार्न निक्कै गाह्रो भएको र बनेका चर्पी प्रयोग भएनछन् भने पनि पूर्ण सरसफाइमा बानी व्यवहार परिवर्तनका क्रममा पूर्ण प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

‘चर्पी नभएको घरमा छोरी नदिने चलन मधेसले सुरु गरिसकेको छ, यो सुखद सुरुवात हो । समाज यसैगरी विस्तारै परिवर्तन हुँदै जाने हो, यो सभ्यतासँग जोडिएको बिषय हो । यसलाई यत्तिमै सिमित राखे परिवर्तनले बाटो पक्रिन सक्दैन, त्यसैले पूर्ण सरसफाइको यात्रामा आजैदेखि लाग्नुपर्छ’ मन्त्री सोनालले भन्नुभयो ।

घोषणा समारोहमा खुला दिसामुक्त अभियानमा दिनरात नभनी खटिएका विभिन्न संघसंस्थाका कर्मचारी, सरसफाइ अभियन्ता एवं सरसफाइ प्रज्वलकहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

 

फोटो : विनोद कुमार महतो कुशवाहाको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार