नेपाल ओडिएफका लागि ७८ लाख प्रतिबद्धता, क – कसले कति व्यहोर्दैछन् ?

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने खर्च व्यहोर्न ७८ लाखको प्रतिबद्धता आएको छ । विभिन्न साझेदार संघसंस्थाले नेपाललाई खुला दिसामुक्त घोषणा गर्न लाग्ने पूर्व तयारी खर्च, सचिवालय खर्च, सूचना प्रसारण, इभेन्ट म्यानेज्मेन्ट एवं अन्य मसलन्द खर्च व्यहोर्ने भएका हुन् ।

अहिलेसम्म युएन ह्याबिट्याट नेपाल, एसएनभी नेपाल, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), प्लान नेपाल र युनिसेफ नेपालले खर्च गर्ने रकमको प्रतिबद्धता आएको नेपाल खुला दिसामुक्त घोषणा सचिवालयले जनाएको छ ।

कसले कति व्यहोर्ने ?

१. युएन ह्याबिट्याट – २५ लाख रुपैयाँ (कन्सल्ट्यान्ट शुल्क, ओडिएफ स्मारिका प्रकाशन, भिडियो डकुमेन्ट्रीमा लगानी गर्ने )

२. एसएनभी नेपाल – ६ लाख रुपैयाँ (परामर्शदाता प्रमुख, सञ्चार माध्यम मार्फत सूचना सन्देश प्रसारण शुल्कको खर्च व्यहोर्ने)

३. विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) – ६ लाख (इभेन्ट म्यानेज्मेन्ट, साउण्ड सिस्टम र लन्चका लागि खर्चिने ।

४. प्लान नेपाल – ४ लाख (प्रिन्टिङ, नोटबुक, बुकलेट, पेपर ब्याग निर्माण लगायतमा खर्च गरिने)

५. युनिसेफ नेपाल – १० लाख (रातो किताबमा उल्लेख भएको रकम)

६. खानेपानी तथा ढल व्यवस्थापन विभाग – २० लाख ( बाँकी कामका लागि खर्च गरिने, आवश्यक परेमा थप रकम समेत लगानी गर्न सकिने )

नेपाल खुला दिसामुक्त घोषणा तयारी कार्य समूहको बैठकले ओडिएफको काउन्डाउनका लागि सामुदायिक रेडियो सूचना नेटवर्कलाइई २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै रेस्पोन्सिबल मिडिया एण्ड रिसर्च सेन्टरका लागि ४ अंक कार्यक्रम उत्पादन एवं प्रसारणका लागि मूल्य अभिबृद्धि कर सहित ३ लाख ५२ हजार, ५६० रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

बैठकले इभेन्ट म्यानेज्मनेन्टका लागि इन्स्टिच्यूट फर प्रोफेश्नल ट्रेनिङ एण्ड म्यानेज्मेन्ट नेपाल (आईपीटिएम) लाई ५ लाख ९८ हजार ६३० रुपैयाँमा प्रदान गर्ने र यसभित्र हल, साउण्ड सिस्टम, खाजा, ब्यानर लगायतको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

खुला दिसामुक्त घोषणा झल्काउने नाटक प्रदर्शनका लागि सर्वनाम नाट्य समूहलाई जिम्मेवारी दिइएको छ भने राष्ट्रिय सांस्कृतिक संस्थानले भने खुला दिसामुक्त समारोहमा सांस्कृतिक नृत्य प्रदर्शन गर्ने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार