अठार घण्टाको खटाईले दिलायो चाँदीको करुवा

 

महोत्तरी : महोत्तरी जिल्लाको सरसफाइमा अहोरात्र खटिएका कर्मचारी एवं सरसफाइ अभियानकर्ता महोत्तरी खुला दिसामुक्त घोषणाको अवसरमा पुरस्कृत भए । केहीलाई मायाको चिनो स्वरुप चाँदीको करुवा दिईएको थियो भने केहीलाई प्रशंसा पत्र मात्र ।

चाँदीको करुवा पाउनेहरुमा वैद्यनाथ चौधरी, गोविन्द सुवेदी, सुदीप झा, चिरञ्जीवी कोइराला सँगै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झा पनि हुनुहुन्थ्यो । जसले खानेपानी तथा ढल व्यवस्थापन विभागको ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखामा आउनु अघि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीमा डिभिजन प्रमुख भएर काम गर्नुभएको थियो ।

पहाडी जिल्ला खोटाङको सरसफाइको अवस्थालाई एउटा उचाई दिएर तराईको महोत्तरी झर्दा त्यहाँको सरसफाइको अवस्था एकदमै नाजुक थियो । खुला दिसामुक्त घोषणा समारोहमा त्यत्तिबेलाका दिनहरु सम्झिदै सदस्य सचिव झाले भन्नुभयो ‘त्यत्तिबेला सडक किनारामा दिसैदिसा देखिन्थ्यो, गाडीको चक्का दिसा लत्पतिएर धेरै किलोमिटर परसम्म पुर्‍याउँथ्यो, गाडीको झ्याल खोल्दा गन्हाएर बसिनसक्नु हुन्थ्यो ।’

त्यस्तो अवस्थाबाट केही पार लगाएर आफूले महोत्तरीको सरसफाइमा गरेको योगदानले आफू चाँदीको करुवा प्राप्त गर्न योग्य भएको घोषणा सभामा बताउनुभयो । ‘मेरो घर जनकपुरमा भएपनि मैले महोत्तरीमै बसेर दिनको १८ घण्टासम्म खटें, राती पनि नसुती – नसुती महोत्तरीको सरसफाइको लागि योजना बनाउने काम गरें, त्यत्तिबेला मैले केही जग हालेको रहेछु आज यो सम्मानले गर्दा मैले त्यो महसुस गरिरहेको छु’ उहाँले भन्नुभयो ।

महोत्तरीसँग आफ्नो जीवनको महत्वपूर्ण उपलब्धीहरु समेत जोडिएको भन्दै उहाँले जलेश्वर मन्दिरमा महाशिव आरतीको सुरुवात गरिएको बताउनुभयो । ‘मैले निजामति पुरस्कारबाट प्राप्त ५० हजार रुपैयाँ रकम पनि महाशिव आरती गर्न चढाएको छु, यो एउटा स्वच्छताको प्रतिक हो ।’ घोषणा सभामा उहाँले भन्नुभयो ।

 

महोत्तरी जिल्ला र सिंङगो प्रदेश २ नै खुला दिसामुक्त भएको घोषणा गर्न पाउँदा जिन्दगीमा कहीं कतै नमिलेको खुसी मिलेको भन्दै उहाँले विगतमा गरिएको दुःख कष्ट सब नष्ट भएको बताउनुभयो ।

‘हामीले सरसफाइको आधारभूत तह पार गरेका छौं, अबको यात्रा पूर्ण सरसफाइको हो, पूर्ण सरसफाइमा पनि हामीले अहिले जस्तै एकजुट भएर अगाडि बढ्नुपर्छ’ उहाँको आग्रह थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार