
नुवाकोट : भूकम्प प्रभावित ६०औं खुला दिसामुक्त जिल्ला नुवाकोटमा पूर्ण सरसफाइ कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा खुला दिसामुक्त जिल्ला घोषणा समीक्षा वैठक पश्चातको प्रथम वैठकमा नुवाकोटका तीन पालिकाहरु विदुर, लिखु र किस्पाङ गाउँपालिकाका ११ वटा वडामा पूर्ण सरसफाइका क्रियाकलाप अघि बढाउने निर्णय गरिएको हो ।
पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनका लागि यु.एन्.ह्याविट्याटको आर्थिक सहयोगमा पुनर्जागरण समाज एवम् डिकोन नेपालले सहजीकरण गर्नेछ । यसअघि खुला दिसामुक्त घोषणा पश्चात खानेपानी योजना र सरसफाइसँग सम्बन्धित टुक्रे कार्यक्रमहरु सञ्चालन भईरहे पनि सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप सरसफाइका कार्यक्रम लागू भएका थिएनन् ।
कार्यक्रमको मुख्य उद्देश्य महिला, किशोरी र जोखिममा रहेका वर्गहरुको आवश्यकतालाई विशेष ध्यान दिंदै पालिका तथा जिल्लामा पूर्ण सरसफाइ कार्यक्रम संस्थागत गर्ने रहेको छ । खुला दिसामुक्त अवस्थालाई दिगोपना दिने, प्रत्येक पालिकामा ५/५ वटा सरसफाइ नमूना समूदाय र विद्यालय बनाउने, त्रिशुली नदी सरसफाइ अभियान सुरु गर्ने, नेपाल सरकारको सरसफाइ मार्गनिर्देशन अनुरुप समूदाय सचेतीकरणका विभिन्न क्रियाकलापहरु संचालन गर्ने लगायतका क्रियाकलापहरु कार्यक्रममा समेटिने वैठकमा जानकारी गराइएको छ ।
जिल्लाको पूर्ण सरसफाइ कार्यक्रमलाई मूर्तरुप दिने उद्देश्यले वैठकमा जिल्ला स्तरीय पूर्ण सरसफाइको नारा आगामी वैठकमा पास गर्ने गरी ३ सदस्यीय समिति गठन गर्नुका साथै जिल्लाको सरसफाइ स्रोत केन्द्र जिल्ला समन्वय समितिमा राखिने, सम्बन्धित पालिका, वडा र सरोकारवाला निकायसँगको समन्वयमा त्रिशुली नदी सफाइ कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने लगायतका निर्णयहरु गरिएको छ ।
यसका साथै पूर्ण सरसफाइका क्रियाकलापलाई अघि बढाउन जिल्लाका पालिकाहरु विदुर, लिखु र किस्पाङमा गाउँपालिका र वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको नियमित वैठक सुचारु भएका छन् ।
खुला दिसामुक्त अभियानलाई दिगोपना दिने र पूर्ण सरसफाइमा समूदाय एवम् जिल्लालाई अघि बढाउन सरसफाइ सामग्रीको अभाव हुन नपाओस् भन्ने उद्देश्यले जिल्ला र स्थानीय तहमा निर्माण तथा सरसफाइ सामग्रीको उपलव्ध गराउने बिषयमा उद्यमीहरुसँग अन्तर्किया कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।
बैठकमा डिवाससीसीका उपाध्यक्ष अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी एवम् डिवाससीसीका सल्लाहकार द्रोण पोखरेल लगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।


1621 पटक हेरिएको 

