हिमाली जिल्ला सोलुखुम्बु खुला दिसामुक्त घोषणा

 

सोलुखुम्बु : सोलुखुम्बुमा संविधान दिवस र सोलुखुम्बु खुला दिसामुक्त घोषणा कार्यक्रम एकसाथ सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राईले सोलुखुम्बुलाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो ।

सोलुखुम्बुको हरेक घरमा एक बर्ष पहिले नै शौचालय निर्माण भएपनि सदरमुकाममा व्यवस्थित ढल नहुँदा सोलुखुम्बु खुलादिसामुक्त घोषणा गर्न सकेको थिएन । हरेक घरमा शौचालय भएपछि खुला दिसामुक्त घोषणा गर्न सकिने र ढल व्यवस्थापन लगायतको काम पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत समेटिने बताएपछि जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सोलुखुम्बु जिल्लालाई खुलादिसामुक्त गर्न सहमत भएको थियो ।

खानेपानी मन्त्रालयले सचिव स्तरीय निर्णयबाट सोलुदुधकुण्ड नगरपालिकाको फाप्लुदेखि दोर्पूसम्मको ढल व्यवस्थापनका लागि साढे ३२ करोडको ढल तथा प्रशोधन आयोजना समेत स्वीकृत गरिसकेको छ ।

जिल्ला समन्वय समितिको परिसरमा आयोजित संविधान दिवस एवं खुला दिसामुक्त समारोहमा संविधान दिवस तथा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले खुला दिसामुक्त जिल्ला घोषणा पछि अब जिल्लाले पूर्ण सरसफाइको यात्रा तय गरिसकेको बताउनुभयो ।

पूर्ण सरसफाइ कार्यक्रममा गरिने क्रियाकलापहरु नगरपालिकाले अहिले देखि नै कार्यान्वयनमा ल्याईसकेको भन्दै उहाँले सिसाजन्य वस्तु र प्लाष्टिक झोलामा लगाएको प्रतिबन्धले बजार स्वच्छ देखिन थालेको बताउनुभयो । सोलुखुम्बु खुला दिसामुक्त हुने ७६ औं स्थानमा परेको छ । अब भोजपुर जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।

 

यस्तै प्रतिनिधिसभा सदस्य हेमकुमार राईले संविधान कार्यान्वयनका चरणमा देखिएका चुनौतीको सामना गर्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले आम नेपाली एकजुट नभएसम्म सम्मृद्ध नेपालको सपना साकार पार्न नसकिनेमा जोड दिनुभयो ।

यस्तै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई तहसनहस पार्नका लागि केही तत्व सल्बलाईरहेकाले त्यस्ता तत्वलाई पहिचान गरी निस्तेज पार्नुपर्ने बताउनुभयो । उहाँले तिनै तहका जनप्रतिनिधिहरुको समन्वयको अभावमा विकासले चाहेजस्तो गति लिन नसकेको बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले नेपालको संविधानले सबैलाई समान रुप्मा अधिकार दिएकाले अत्तालिनु नपर्ने बताउनुभयो । नयाँ नेपाल निर्माण लागि भ्रष्टाचार मुख्य चुनौतीको रुपमा देखिएकाले सबै मिलेर अघि बढ्नुपर्ने सांसद बस्नेतको भनाई थियो ।
संविधान दिवस र खुलादिसामुक्त घोषणाको संयुक्त कार्यक्रम सुरु अघि सल्लेरी बजारमा बृहत ¥याली निकालिएको थियो ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक बीर कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका बिजेता र खुला दिसामुक्त जिल्ला घोषणाका लागि सहयोग गर्ने गैरसरकारी संस्था र सञ्चारमाध्यमलाई पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार