
उदयपुर : एक महिनाको पानीको बिल १७ हजार भन्दा बढी आयो भन्दा पत्याउनु हुन्छ ? नपत्याए पनि पत्याउन कर नै लाग्छ । किनकि उदयपुरको कटारी तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिना दिनकै पानीको बिल १७ हजार भन्दा बढी थमाएको हो ।
कटारी नगरपालिका – ३ का कैशाल प्रसाद शाहको घरको धाराको मिटर रिडिङ रसिदमा खपत युनिट १३१ र खानेपानी महशुल १७ हजार ४ सय २ रूपैयाँ उल्लेख छ । यदि १३१ युनिटकै यत्ति धेरै बिल उठेको हो भने प्रति युनिट १३२ रुपैयाँ भन्दा बढी पर्न आएको छ । त्यसैगरी, सोही स्थानका होटल संञ्चालक पियुमति गिरीको खाने पानीको महशुल पनि १५ हजार २ सय ७४ रूपैयाँ आएको छ । ‘मोटर चल्दा सबै मोटरबाटै काम चलाउने काम गरेको र पिउने र भाँडा धुने बाहेक पानी प्रयोग नगर्दा समेत यत्तिका बिल आएको गिरीले बताउनुभयो । उहाँका अनुसार धारा नहुँदा पनि ७ हजारको मिनिरल वाटर भन्दा बढीको पानी पिएको रेकर्ड थिएन ।
एउटा सामान्य परिवारको पूरै घर खर्च धान्ने रकम बराबरको पैसा पानीको महशुलका रूपमा आएपछि उपभोक्ताहरु अन्यौलमा छन् । २८ सय ५० धाराको लक्ष्य रहेको आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनि रहेका १ सय ८३ घरलाई निशुल्क धारा वितरण गरेको छ ।
अधिकांश उपभोक्ताहरु चर्को महशुल आएसँगै त्रसित छन् । समितिले विना छाप र हस्ताक्षरको बिल उपभोक्ताहरुलाई दिँदै आएको छ । उपभोक्ताहरुका अनुसार चार वर्ष पहिले प्रतिधारा १४ हजारका दरले रकम संकलन गरिएको थियो । अहिले धारा जडानको काम अन्तिम चरणमा पुगेको छ । ४ वर्ष पहिले एकै जनाले २५ वटा धारासम्म राखेका थिए । नयाँ उपभोक्ताहरुले भने पहिले नै आवश्यक भन्दा बढी धारा राखेका सँग खरिद गर्नुपर्ने अवस्था छ ।
त्यति बेला प्रतिधारा १४ हजार जम्मा गरेकाहरूले अहिले प्रति धारा ३० देखि ४० हजारसम्ममा बिक्री गर्दै आएका छन् । त्यतिबेला आवश्यक भन्दा पाँच सय ५० बढी धारा बिक्री भएको थियो ।
खानेपानी आयोजना संञ्चालन गर्न उपभोक्ता समितिले २ करोड ५८ लाख संकलन गर्नुपर्ने थियो । उक्त रकम संकलन गरेपछि नगर विकास कोषले करिब १३ करोड ४४ लाख रूपैयाँ ऋण अनुदान दिने र नेपाल सरकारका तर्फबाट करिब ३७ करोड ६३ लाख रूपैयाँ गरी जम्मा ५३ करोड ७६ लाख ५९ हजार रूपैयाँमाआयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो ।
उपभोक्ता समितिले जम्मा गर्नु पर्ने रकम जुटाउन नसकेपछि अतिरिक्त धारा वितरण गर्ने निर्णय गरेको थियो । यसका साथै धारा संञ्चालनमा आएपछि ४० हजारमा बेच्न समेत अनुमति दिएको थियो । ग्राहकले राखेको थप धारा बिक्री नभएसम्म अरू धारा वितरण नगर्ने समितिको निर्णय रहेको उपभोक्ता समितिका सचिव वेद विक्रम कार्कीले जानकारी दिनुभयो ।
समितिले संकलित रकम २ करोड ५८ लाख रूपैयाँ आफू खुसी धेरै ब्याज दिने बैंकहरु खोज्न थाले । सुरुमा कृषि विकास बैंकमा राखिएको उक्त रकमको ब्याज नआउने भएपछि सेन्चुरी बैंकमा राखिएको थियो । सेन्चुरी बैंकले पनि राम्रो ब्याज नदिएको भन्दै एनसिसी बैंकमा राखेको समितिका सचिव कार्कीले बताउनुभयो । धेरै पैसा बैंकमा राख्दा कमिशन आउने भएकाले समितिले जुन बैंकले राम्रो कमिशन दिन्छ सोहीअनुसार परिवर्तन गर्दै आएको उपभोक्ताको बुझाइ छ ।


1235 पटक हेरिएको 

