
बाँके : वास च्याम्पियनका लागि पूर्ण सरसफाइ सम्बन्धी दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाइतर्फ उन्मुख गराउने उद्देश्यले बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम सञ्चालन गरिएको हो ।
तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाइ अभियानको प्राथमिकीकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागीलाई दक्ष बनाइने छ । बाँके र बर्दियामा प्लान इन्टरनेशनल नेपालको सहयोग, स्थानीय निकायको समन्वय तथा सहकार्यमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले तालिमको आयोजना गरेको हो ।
तालिममा बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ बदालपुर क्षेत्र, वडा नं. ६ मानपुर टपरा क्षेत्रका ९ जना र बाँकेको जानकी गाउँपालिका वडा नं. २ बेलभार तथा वडा नं. ६ गनापुर क्षेत्रबाट गरी ९ जनाको सहभागिता रहेको छ । पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा पूर्ण सरसफाइ समुदाय निर्माणका लागि स्थानीय तह, गाउँपालिका र नगरपालिकाले बिभिन्न नीति नियमहरु निर्माण गरी अघि बढ्नुपर्ने उल्लेख छ ।
हरि सुबेदीले सहजीकरण गरिरहेको तालिममा सहभागी वास च्याम्पियनका लागि यस अघि नेपालगञ्जमा तीन दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको थियो । तालिममा पूर्ण सरसफाइ, वास च्याम्पियन, वास भित्रका सबै पक्षका बारेमा छलफल भएको थियो ।


1265 पटक हेरिएको 

