धादिङमा खानेपानी गुणस्तर परिक्षण सेवा सुरु

धादिङ : धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ गणेशमार्गमा खानेपानी गुणस्तर परिक्षण सेवा सुरु भएको छ । शुक्रबार शान्ति नेपालको परियोजना ब्यबस्थापन कार्यालय भवनमा खानेपानी गुणस्तर परिक्षण सम्बन्धी मिनी ल्याबको उदघाटन गरिएको हो । सुरक्षित खानेपानीको पहुँच बृद्धि गर्ने, सरुवा रोग नियन्त्रण मार्फत जनस्वास्थ्य प्रवर्धन गर्ने र जिल्लाको पूर्ण सरसफाइ अभियानमा सहयोग पु्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राबिबधिक तथा आर्थिक सहयोगमा शान्ति नेपालले मिनी ल्याब सञ्चालनमा ल्याइएको हो ।

मिनील्याबमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डमा भएको २७ वटा पारामिटर मध्ये १२ प्रकारका पारामिटर परिक्षण सेवा उपलब्ध रहेको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिंग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार मिनील्याबले धमिलोपना, पिएच, तापक्रम, फलाम, क्लोराइड, नाइट्रेट, कडापन, एमोनिया, फोस्फेट, क्लोरिन अवशेष, इ– कोली र कोलिफम परिक्षण सेवा प्रदान गर्नेछन् ।

 

खानेपानी गुणस्तर परिक्षण मिनी ल्याबका जिल्ला समन्वय समिति धादिङका प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि जगन्नाथ नेपालले उदघाटन गर्नुभयो । प्रमुख अतिथि नेपालले स्वच्छ खानेपानीको पहुँच र प्रयोग पूर्ण सरसफाइको एउटा सूचक रहेको र यसै बिषयसँग सम्बन्धित ल्याब सञ्चालनमा ल्याएकोमा एन्फो र शान्ति नेपाललाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो कार्यकाल अब साढे २ बर्ष मात्र रहेको र यसै अबधिभित्र यस मिनील्याबलाई ल्याबको रुपमा स्तरोन्नति गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा एन्फोका कार्यकारी निर्देशक बिपिन डंगोलले ल्याब सञ्चालनको औचित्य र खानेपानी परिक्षणको महत्वको बिषयमा सहजीकरण गर्नुभयो । उहाँले सम्भवतः नेपालमै पहिलो पटक यति ब्यबस्थित मिनील्याबको स्थापना भएको र यसलाई ल्याबकै रुपमा बिकास गरी खानेपानीको सबै पारामिटर परिक्षण गर्न सकिने बनाउन जिल्लामा रहेका सबै सरोकारवालाहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

मिनील्याब उदघाटन कार्यक्रमका अध्यक्ष एवं शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले पिउने पानी सुरक्षित भए नभएको सुनिश्चित गर्न ल्याबले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । ‘पानी जीवन हो सुरक्षित पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार हो । असुरक्षित पानीलाई कसरी सुक्षित बनाउन सकिन्छ प्राबिधिक सल्लाह समेत यस ल्याब बाट निशुल्क रुपमा प्रदान गरिनेछ’ उहाँले भन्नुभयो ।

मिनी ल्याब उदघाटन कार्यक्रममा गैसस महासंघ धादिङका सचिव सालिकराम दुवाडी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजारामशर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङकी उपप्रमुख बिन्दा बराम्, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख सिताराम काफ्ले र जिल्लामा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधीको समेत उपस्थिति थियो ।

 

 सुरेश सिग्देल
अनुगमन मुल्याङ्कन सहायक अधिकृत
शान्ति नेपाल

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार