मर्स्याङ्दीमा फोहोर फाल्न बन्देज

लमजुङ :  मर्स्याङदी नदी जलक्रिडा (र्‍याफटिङ, कायाकिङ) का लागि प्रख्यात छ । चक्रीय अन्नपूर्ण पदमार्ग यसको तिरैतिर रहेकाले दृश्यावलोकनका लागि मनमोहक छ ।

हिमालको फेदबाट बग्ने नदीको पानी हिउँदमा हरियो र नीलो रंगमा देखिन्छ । बग्ने ठाउँको उतारचढावले केही ठाउँमा सेतो देखिन्छ । मनाङबाट बग्ने मर्स्याङ्दी नदी मर्स्याङ्दी गाउँपालिकामा मात्रै करिब २५ किलोमिटर पर्छ । मर्स्याङदी गाउँपालिकाको ठीक बीचबाट बग्ने यही मर्स्याङ्दी नदीलाई पछ्याउँदै पर्यटकहरु चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्छन् । पदमार्ग र मर्स्याङ्दी छेउछाउ धेरै होटलहरु खुलेका छन् ।

 

पर्यटक बढ्नु, होटल व्यवसाय बढ्नु, फोहर जथाभावी फाल्नु, फोहरको व्यवस्थापन हुन नसक्नु लगायत कारणले केही वर्षयता मर्स्याङ्दी नदी दिनदिनै फोहर हुँदै गएको छ । प्लास्टिक, बोत्तल, सिसा, फलाम, छड लगायत वस्तु जथाभावी फाल्नाले मर्स्याङ्दी फोहर बन्दै गएको छ । भाँडा धुने पानी, नुहाउने पानी साथै शौचालयको फोहरसमेत सिधै लगिएपछि मर्स्याङ्दी फोहरमात्रै होइन, दुर्गन्धित समेत बनेको छ । यो खबर  कान्तिपुर दैनिकले छापेको छ । मर्स्याङ्दी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङका अनुसार मर्स्याङ्दी नदी अब पहिलेको जस्तो छैन । सफा मर्स्याङ्दी अभियानमा लागेको उनले बताए ।

 

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ‘सफा मर्स्याङ्दी अभियान’ सुरु भएको छ । मर्स्याङ्दी नदीबाट नामांकरण गरिएको मर्स्याङ्दी गाउँपालिका भरी नै जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाइएको छ । ‘मर्स्याङ्दी नदी र मर्स्याङ्दी गाउँपालिका भरी नै फोहर जथाभावी फाल्न दिएका छैनौं’ उनले भने ।

उनका अनुसार मर्स्याङ्दी नदी वरपरका व्यवसायी तथा स्थानीयले मर्स्याङ्दी नदीलाई फोहर बनाएको र दुर्गन्धित बनाएको गुनासो आउन थालेपछि अभियान नै चलाउनु परेको हो । ‘दैनिक पर्यटक हिँड्छन् । हामीले जथाभावी फोहर नफाल्न ठाउँ ठाउँमा सूचना टाँसेका छौं । भन्दै आएका छौं । फोहर राख्ने डस्टवीनको व्यवस्था गरेका छौं’ उनले भने, ‘ती ठाउँमा संकलित फोहरलाई एक ठाउँमा ल्याएर प्रशोधन थालेका छौं ।’

 

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सहयोगमा किनिएको ट्याक्टरबाट दैनिक फोहर संकलन भइरहेको उपाध्यक्ष होमबहादुर विकले बताए । २३ लाख ५५ हजार रुपैयाँ सहयोग गरेकोमा २१ लाख ९० हजार रुपैयाँमा ट्याक्टर खरिद गरिएको छ । गाउँपालिकाभित्रका ९ वटै वडामा फोहर संकलन गरी संकलित फोहरलाई एकैठाउँमा ल्याएर प्रशोधन गरिएको छ ।

यसका लागि भुलभुलेमा फोहरमैला संकलन केन्द्र निर्माण गरिएको छ । ‘कुहिने फोहरलाई गाउँमै कम्पोष्ट मल बनाउन सुझाएका छौं । नकुहिने फोहर संकलन गरेका छौं । संकलन केन्द्रमा ल्याइएका फोहरको बर्गीकरण गरी यसलाई पुनःप्रयोगका लागि बिक्री गरिएको छ ।’ फोहरमैला संकलन केन्द्र भवनका साथमा शौचालय, खानेपानी धारा र कुहिने फोहोर राख्ने २ वटा खाडल निर्माण गरिएको छ । आवश्यकताअनुसार ४ जनासम्म दैनिक ज्यालादारी खोजेर फोहर वर्गीकरण गराइएको छ । ट्याक्टर चालक र सहयोगी भने करारमा नियुक्त गरेर राखिएको छ ।

 

सफा मर्स्याङ्दी अभियानअन्तर्गत जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाई गरिएको छ । हरेक व्यक्तिले महिनाको २ घण्टा सार्वजनिक ठाउँको सरसफाई गर्नुपर्ने नियम बनाइएको छ । होमस्टे, होटल व्यवसायी, संघसंस्था तथा घरघरले तोकिएको ठाउँमा फोहर जम्मा गर्नुपर्ने नियम बनाएको छ । सवैले डष्टवीनमा फोहर फाल्नुपर्ने र कुहिने बस्तुलाई अनिवार्य कम्पोष्ट मल बनाउनुपर्ने नियम मर्स्याङ्दी गाउँपालिकाले बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार