जापानी प्रविधिबाट फोहोरबाट कम्पोस्ट मल उत्पादन

 

भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नयाँ प्रविधिबाट फोहोर व्यवस्थापन थालेको छ । नगरभित्रको फोहोर उठाउन नसकेको नगरपालिकाले नेपालमै पहिलोपटक जापानिज प्रविधि अपनाएर फोहोर व्यवस्थापनका लागि पहल लिएको हो । ‘फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरेर दुई भागमा वर्गीकरण गराउने, कुहिने प्रकृतिका फोहोरबाट जापानिज प्रविधि अपनाई कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्यसहित नगरपालिका आफैँले फोहोर व्यवस्थापनको पहल गरेको छ,’ मेयर मदनसुन्दर श्रेष्ठले भने ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि रिकिसी कम्पोस्ट प्रालिसँग सहकार्य गरेको छ । रिकिसीले जापानी वैज्ञानिकले पत्ता लगाएको सिएनबिएम प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको छ ।

नगरपालिकाले वडा नं. ४ बाट जापानिज प्रविधिबाट फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेको छ । ‘फोहोरमा ठूलो पैसा खर्च हुन्छ, त्यसैले ढिलै भए पनि प्रविधियुक्त र व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेका छौँ,’ श्रेष्ठले भने ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि रिकिसी कम्पोस्ट प्रालिसँग सहकार्य गरेको छ । रिकिसीले जापानी वैज्ञानिकले पत्ता लगाएको सिएनबिएम प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको छ । नगरपालिकाले अन्य आठ वडाको फोहोर भने उठाउँदैन । त्यहाँका स्थानीयले निजी कम्पनी मार्फत फोहोर उठाउँछन् । नगरपालिकाले ४ नं। वडाबाट फोहोर व्यवस्थापन थालेको र अब क्रमशः ५, ६ हुँदै अन्य वडाबाट पनि सोही प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ ।

फोहोर उठाउन नगरपालिकाले ३ वटा गाडी खटाएको छ । संकलित फोहोर जम्मा गर्ने र प्रशोधन गरी मल बनाउन विष्णुकुण्ड नजिकै नगरपालिकाले दुईवटा ट्रस निर्माण गरेको छ । फोहोर उठाउन र प्रशोधनलगायत काममा रिकिसी कम्पोस्ट प्रालिले कर्मचारी परिचालन गरेको छ । ‘प्रविधि, सीप र प्रयोग कम्पनीको हो, हामीले पूर्वाधार र सहजीकरण मात्रै गर्दै छौँ,’ मेयर श्रेष्ठले भने । नगरपालिकालाई जापानी प्रविधिबाट फोहोर व्यवस्थापन गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ ससर्त अनुदान उपलब्ध गराएको थियो । सोही बजेटबाट ट्रस निर्माण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव सिलवालले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

महानगरले तिहारमा पनि फोहोर संकलन गर्ने

काठमाडौं महानगरपालिकाले तिहार पनि फोहोर उठाउने भएको छ । महानगरको वातावरण विभागका अनुसार भाइटीकाका दिनबाहेक अन्य दिनमा फोहोर संकलन हुनेछ । भाइटीकाबाहेक तिहारका अन्य सबै दिन फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । महागनरले तिहारमा फोहोर संकलनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेको छ । ‘दशैँमा निजी क्षेत्रबाट सहयोग प्राप्त गरेका थियौँ । तिहारमा पनि सहयोग प्राप्त हुन्छ भन्ने विश्वास लिएका छौँ,’ श्रेष्ठले भने ।

काठमाडौं महानगरपालिकाले सहरी सफाइका लागि निजी, सामुदायिक तथा गैरसरकारी संस्थालाई मर्जरमा जान आग्रह गरेको छ । मेयर विद्यासुन्दर शाक्यले मर्जर गरेर ठूलो संस्था बनाउन आग्रह गरे । उनले निजी क्षेत्रसँगको छलफलमा क्षमता बढाउन र प्रविधि पनि ल्याउन आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार