नुवाकोट : वि.सं २०७५ असारमा खुला दिसामुक्त घोषणा भएको नुवाकोट जिल्ला पूर्ण सरसफाइको क्षेत्रमा फड्को मार्न खोज्दैछ । विश्व सरसफाइ कोष अन्तर्गत यु.एन्.ह्याविट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल एवम् डिकोन नेपालको सहजीकरण अन्तर्गत जिल्लाका ३ गाउँपालिकाका ११ वडामा १५ वटा नमूना समूदाय, र १५ वटा नमूना विद्यालय छनौट गरी पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु भईरहेका छन् । सबै समूदाय यतिबेला आफ्नो समुदायलाई पहिलो सरसफाइ नमूना समुदाय बनाउने होडबाजीमा लागेका छन् ।
समुदायलाई नमूना सरसफाइ समूदाय बनाउन विदुर नगरपालिका वडा न. ४ स्थित आँपघारी द्रुतगतिमा अगाडि बढिरहेको छ । स्थानीय शिव थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरी सरसफाइ क्रियाकलाप अगाडि बढाइरहेको यस समूदायले व्यापक सरसफाइ अभियानमा लाग्न वृहत कार्ययोजना समेत बनाइसकेको छ । साथै सरसफाइमा समूदायलाई अब्बल बनाउने उद्देश्यले सरसफाइ स्रोत केन्द्रका लागि छुट्टै कोठाको समेत व्यवस्था गरिएको छ । जम्मा ९० घरधुरी रहेको यस वस्तीका सरसफाइ समिति सहित सम्पूर्ण समुदाय नै आफ्नो समुदायलाई नुवाकोट जिल्लाकै प्रथम सरसफाइ नमूना गाउँ बनाउन प्रयत्नशील रहेको समितिका अध्यक्ष शिव थापाले बताउनुभयो ।

यसैगरी किस्पाङ गाउँपालिका वडा नं ५ मनकामना स्थित पोखरी गाउँ नमूना समुदाय पनि आफ्नो गाउँलाई सरसफाइ नमूना वस्ती बनाउन लागि परेको छ । जम्मा ५३ घरधुरी रहेको यस समूदायले गएको तिहारमा सरसफाइ देउसी भैलो कार्यक्रम समेत आयोजना गर्यो जसमा उनीहरुले सबैले संधै चर्पी प्रयोग गर्दा, साबुन पानीले हात धुँदा, सुरक्षित खानाको प्रयोग गर्दा स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावको बारेमा जनजागरण फैलाउँदै देउसी भैलोमा दान लिंदा आफूहरुले साबुन उपहार दिई यस तिहारबाट विशेष अवस्थामा साबुन पानीले सबैले सधै हातधुन सुझाएका थिए ।
यस बाहेक लिखु गाउँपलिकाका ४ वटा समूदाय, विदुरको १ र किस्पाङको १ गरी ६ समुदायले पनि सरसफाइ नमूना समुदाय बनाउन समिति उपसमिति बनाइसकेका छन् भने अन्य ३ वटा समुदाय पनि समिति उपसमिति बनाई वृहत कार्य योजना तयारीमा जुटिसकेका छन् ।


1153 पटक हेरिएको 

