फोहोर जलाउने मेसिन राख्ने बिषयमा विवाद

 

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिकामा फोहोर जलाउने मेसिन राख्ने ठाउँको विषयमा विवाद सिर्जना भएको छ । फोहोर व्यवस्थापन नहुँदा बनेपा दुर्गन्धित छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि फोहोर जलाउने मेसिन राख्ने तयारी गर्दा केही स्थानीयले त्यसको विरोध गरेका छन् ।

बनेपा–९ स्थित नगरपालिकाकै नाममा रहेको जग्गामा फोहोर जलाउने मेसिन राख्ने तयारी नगरपालिकाले गरेपछि केही स्थानीयले विरोध गरेका हुन् । त्यसको अगुवाइ स्थानीय कांग्रेस नेताले गरेका छन् ।

जापानमा बनेको आधुनिक प्रविधियुक्त वातावरणमैत्री मेसिन राखेर फोहोर जलाउने निर्णय कार्यापालिका बैठकले गरेको मेयर लक्ष्मीनरसिंह बादेले बताए । कांग्रेसका नेता पनि नगरपालिकाको जग्गामा फोहोर जलाउँदा प्रदूषण बढ्ने दाबी गर्छन् । यस विषयमा सहमति खोज्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला समन्वय समिति, राजनीतिक दल, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, नागरिक समाज, संघ/संस्थाको उपस्थितिमा संयुक्त बैठक भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

सहमति नभएपछि काम रोकियो

शुक्रबारै नगरपालिकाले मिसिन राख्ने संरचना निर्माणको तयारी गरेको थियो । तर, स्थानीयको विरोधपछि काम रोकिएको छ । नगरपालिकाले भने मिसिनबाट फोहोर जलाउँदा धुवाँ नआई बाफ मात्रै निस्कने र कुनै खालको प्रदूषण नहुने दाबी गरेको छ । ‘फोहोर जलाउने मेसिन वातावरणमैत्री छ, विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको मिसिन हो यो,’ मेयर बादेले भने, ‘परीक्षणका लागि वडा नम्बर ९ स्थित नगरपालिकाकै जग्गामा मेसिन राख्ने तयारी हामीले गरेका छौँ ।’ उनले नगर कार्यपालिका बैठकबाट निर्णय गरिसकेकाले कुनै पनि हालतमा मेसिन राख्ने ठाउँ परिवर्तन नहुने बताए ।

‘यदि मेसिन सञ्चालनमा आएपछि सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएमा सो स्थानबाट मिसिन नगरपालिकाले फिर्ता लैजानेछ,’ मेयर बादेले भने, ‘फोहोरमैला व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्छ ।’ मिसिन राखेबापत त्यस क्षेत्रको सडक, खानेपानीलगायत स्थानीयको स्वास्थ्य बिमासमेत नगरपालिकाले गर्ने, फोहोर लैजाँदा त्रिपालले छोपेर व्यवस्थित ढंगले लैजाने निर्णय पनि बैठकले गरेको बादेले बताए ।

पहिला वातावरण परीक्षण गरौँ : कांग्रेस

पूर्वउद्योग राज्यमन्त्री एवं कांगे्रस नेता कञ्चनचन्द्र बादे श्रेष्ठले वातावरण परीक्षणविना फोहोर जलाउने मेसिन राख्न नहुने बताए । ‘फोहोर व्यवस्थापनका लागि नगरपालिकाले चालेको कदम राम्रो भए पनि पहिला वातावरण परीक्षण गर्नुपर्छ, प्राविधिक रिपोर्ट नआएसम्म काम अघि बढाउनुहुँदैन,’ उनले भने, ‘प्राविधिक रूपमा ठीक छ भन्ने रिपोर्ट नआएसम्म काम गर्न दिने पक्षमा हामी छैनौँ ।’ वातावरण र सामाजिक परीक्षणविना फोहोर जलाउने मेसिन राख्ने चेष्टा नगरपालिकाले गरेमा दुर्घटना निम्तिने चेतावनीसमेत उनले दिए ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य सवर प्रजापतिले भने विवादित ठाउँमा भन्दा पनि नगरपालिका कार्यालयअगाडि राखेर मेसिनको परीक्षण गरिनुपर्ने बताए ।

विपक्षीलाई बेवास्ता गरेको आरोप

विपक्षी दलका नेता कार्यकर्ताले भने नगरपालिकाका मेयर बादेले नेकपाबाहेक दललाई बाइपास गरेर अगाडि बढेको आरोप लगाएका छन् ।

कांग्रेस जिल्ला उपसभापति अच्युत पौडेलले नगरपालिकाले वडाध्यक्षलगायत जनप्रतिनिधि र सम्बन्धित सरोकारवालासँग समन्वय नगरेका कारण समस्या निम्तिएको बताए । फोहोर जलाउने भनिएको वडा नं। ९ को जग्गा नगरपालिकाले कृषि प्रयोजनका लागि खरिद गरेको हुँदा जुन प्रयोजनका लागि खरिद गरिएको त्यही कामका लागि प्रयोग गर्नुपर्ने विपक्षी दलका नेता कार्यकर्ताको भनाइ छ ।

समाजवादी पार्टीका जिल्ला अध्यक्ष कृष्ण भण्डारीले दीर्घकालीन रूपमा सोचर काम गर्न सुझाब दिए । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले फोहोरमैला व्यवस्थापनका लागि टोलटोलमा फोहोर व्यवस्थापन समिति बनाएर समस्याको समाधान गर्नुपर्ने बताए ।

नयाँ पत्रिका दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार