बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाले प्लाष्टिकजन्य पदार्थको प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ । प्लाष्टिक निषेध क्षेत्र घोषणा गर्ने विषयमा नगरभित्रका राजनीतिक दल, व्यवसायी र सामाजिक संघसंस्था एवं स्थानीयले सहयोग गर्ने ऐक्यवद्धता जनाएका छन् ।
शुक्रबार नगरपालिकाले प्लाष्टिकजन्य पदार्थ निषेध सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी एक महिनाभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक वर्षअघि नगरपालिकालाई प्लाष्टिकजन्य वस्तु निषेध क्षेत्र घोषणा गरिसकेको छ ।
प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा ठूलो असर पुर्याउने भएकाले यसलाई निषेध गर्न लागेको कार्कीले बताउनुभयो । ‘नगरभित्रका सबै संघसंस्था र स्थानीयको ऐक्यवद्धता पछि एक महिना तयारी गरेर प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्ने मेयर कार्कीले बताउनुभयो । ‘नगरपालिकाले वर्षौंसम्म नकुहिने प्लाष्टिकको सट्टा एक वर्षमा कुहिने खालको झोला मात्रै प्रयोगमा ल्याउने गरी तयारी गरिरहेको छ, ‘यसका लागि ५० लाख वजेट खर्च गर्दैछौं’ उहाँले भन्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्लाष्टिकको विकल्पमा फाइबर र कपडाको झोला बनाउने उद्योग र उत्पादनलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । अभिमुखीकरणमा नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा र नेकपा नगर अध्यक्ष चेत नारायण न्यौपानेले सैनामैनालाई प्लाष्टिक निषेध क्षेत्र बनाउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि सैनामैना नगरपालिकाले नगरलाई स्वच्छ राख्न फोहोरमैला जलाउन नपाईने नियम बनाएको छ ।