फोहोर व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन, स्थानीय सरकार जागरुक हुनुपर्नेमा जोड

 

काठमाडौ : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैला व्यवस्थापनको काममा सबैभन्दा बढी स्थानीय सरकार जागरुक हुनुपर्ने बताउनुभएको छ । काठमाडौमा सुरु भएको दुईदिने फोहोर व्यवस्थापनको राष्ट्रिय सम्मेलनमा राज्यमन्त्री मानन्धरले फोहोरमैला व्यवस्थापनको काममा स्थानीय सरकारलाई सम्पूर्ण जिम्मेवारी दिएकोले यसको स्वामित्व स्थानीय सरकारले लिनुपर्ने भएपनि काठमाडौंको फोहोरमैला ब्यवस्थापनमा निजी क्षेत्र अघि अघि, स्थानिय सरकार पछि पछि भएको टिप्पणी गर्नुभयो ।

उहाँले फोहोरमैला व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको तर राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट निरन्तर भैरहेकोमा निजी क्षेत्रको प्रशंसा गर्नुभयो ।

सम्मेलनमा पूर्वमन्त्री गणेश साहले प्रत्येक जनप्रतिनिधि र स्थानीय सरकारले जहिले पनि सडक, पुल, ढल निकास जस्ता बिषयमा मात्र नभई शिक्षा तथा विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राखेर बजेट छुट्याउनुपर्ने बताउनुभयो । ‘राज्यले गर्नुपर्ने काम निजी क्षेत्रको पहलमा आजसम्म भईरहनु भनेको लज्जास्पद काम हो’ उहाँले भन्नुभयो ।

निजी क्षेत्रको सहयोगबाट सहरलाई दुर्गन्धमय हुनबाट बचाइरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताउनुभयो । काठमाडौं महानगरपालिकाले फोहोर जस्तो संवदेनशील बस्तुलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । अहिलेसम्म फोहोरमैला व्यवस्थापनमा नीतिगत रूपमा राज्य स्पष्ट भइनसकेको अवस्थामा नीति बनाएर अगाडि बढनुपर्ने फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) का अध्यक्ष धनप्रसाद आचार्यले बताउनुभयो । स्थानीय सरकारले फोहोर व्यवस्थापनको लागि पुर्वाधारको विकास गरिनुपर्ने उहाँको भनाई थियो ।

फोहोर व्यवस्थापनको लागि नीति नियम निर्माण गरी दीर्घकालीन फोहोर व्यवस्थापनमा सरकारको ध्यानाकार्षण एवं ठोस सुझाब दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । आज समापन हुने सम्मेलनमा देशभरका ३५ भन्दा बढी नगरपालिकाका प्रशासकीय प्रमुख, वातावरण बिभाग प्रमुख र जनप्रतिनिधिको उपस्थिति रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार