
काठमाडौ : विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले विपद सम्बन्धी समाचारलाई बढी भन्दा बढी स्थान दिने र त्यसमा पनि लैगिंक दृष्टिकोणले समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएका छन् । लैंगिक उत्तरदायी विपद जोखिम व्यवस्थापनका लागि सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रियामा पत्रकारहरुले विपद व्यवस्थापनको समग्र बिषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् ।
अन्तरक्रियामा स्थानीय तहमा विपद जोखिम न्यूनीकरण योजना, नीति निर्देशिका र कार्यक्रम तथा बजेट तर्जुमा बिषयमा लैंगिक मूल प्रवाहीकरणको महत्वका बिषयमा छलफल गरिएको थियो ।
अन्तरक्रियामा विपदको समयमा गरिने रिपोर्टिङ समावेशीमूलक र लैगिंक दृष्टिकोणबाट आउन नसकेको भन्दै आगामी दिनमा लैगिंक दृष्टिकोणबाट पनि समाचारहरु प्रकाशन हुनुपर्नेमा आयोजकले जोड दिएका थिए ।
‘विपदमा पुरुषहरु भन्दा महिलाहरु बढी प्रभावित हुन्छन् । प्रभावितको दृष्टिकोणबाट समाचार बन्यो भने त्यसले राम्रो प्रभाव छर्न सक्छ । पूर्व तयारीको सवालमा पनि त्यही हो । पूर्व तयारीको सवालमा पनि समावेशिताको आँखाबाट समाचार बनायो भने त्यसले अपाङ्गता भएका व्यक्ति, महिला, बृद्धबृद्धा, केटाकेटी सबैलाई ध्यान दिएर विपद पूर्व तयारी सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ’ सहजकर्ता मनोज थोकर तामाङले भन्नुभयो ।

अन्तरक्रियामा विपदको समयमा पत्रकारिता गर्दाका अनुभव एवं घटना अध्ययनहरुको आदानप्रदान गरिएको थियो । पत्रकारहरुले विपद व्यवस्थापनको नीति, लैंगिक एवं समावेशीमैत्री भएको नभएको बारे रिपोर्टिङ गर्ने, पूर्व तयारी, विपदका दौरान, उद्धार र राहत वितरण समावेशी भए नभएको बारे समाचार सामग्री बनाउने, वास्तविक पीडितले सहयोग पाए नपाएको बारे खोजमूलक समाचार बनाउने, विपद व्यवस्थापनमा विगतमा भएको अभ्यासको समीक्षा गर्ने, विपद व्यवस्थापन पत्रकारिताको क्षमता अभिबृद्धि गराउने र विपदको समयमा सञ्चार माध्यमले जनहीतमा सूचना सम्प्रेषण गर्ने लगायत प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा विपद जोखिम न्यूनीकरणमा राष्ट्रिय तथा समुदाय स्तरमा सञ्चार क्षेत्रको भूमिका धेरै हुने भएकाले सञ्चारक्षेत्र लैंगिक उत्तरदायी हुनुपर्ने बताएका थिए । सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम मिडिया एडभोकेसी ग्रुप, महिलामैत्री विपद व्यवस्थापन समूह, आईओएम, र युएन वुमनले संयुक्त रुपमा आयोजना गरेका थिए ।



872 पटक हेरिएको 

