फिदिम – फिदिम नगरपालिका–४, हेंवाघाटमा फोहोर जलाउन मिल्ने डस्टबिन राखिएको छ । हेंवाघाटमा शवदहन गर्न आउनेहरुले जथाभावी फोहोर फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेपछि फोहोर जलाउन मिल्ने फलामको डस्टबिन राखिएको हो । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले ६८ हजार रुपैयाँको लागतमा डस्टबिन राखेको क्लबका मिलन विश्वकर्माले जानकारी दिनुभयो ।
गत दीपावलीमा देउसीभैलो खेलेर सङ्कलित रकमबाट डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेले जानकारी दिनुभयो । हेंवाघाटमा सरकारी लगानीबिना नै यहाँ नागरिक तथा जातीय सङ्घसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । समाजसेवी मित्रप्रसाद काफ्लेले घाटमा स्वच्छ खानेपानीको प्रबन्ध मिलाउनुभएको छ ।
हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा राखिएको एक÷एक डस्टबिन तथा सूचनापाटी फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई केही दिन अघि हस्तान्तरण गरेको थियो ।
प्रदूषण न्यूनीकरणका लागि फलामको डस्टबिन
🔗
Shares


649 पटक हेरिएको 

