‘मेरो विद्यालय सहयोग कार्यक्रम’ विद्यालय सरसफाइका लागि कोसेढुङ्गा

 2070 पटक हेरिएको

 

अर्घाखाँची : अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयको वरिपरि कागजका टुक्रा र प्लाष्टिक देख्न पाईदैन । विद्यालय प्राङ्गण सफासुग्घर र चिटिक्क परेको छ । विद्यालयको प्राङ्गण यत्ति धेरै सफा हुनुमा सरसफाइ प्रति विद्यालय परिवारमा आएको सचेतना र छात्रछात्रालाई जङ्गफुड खान नदिनु पनि हो ।

विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको पनि व्यवस्था गरिएको छ । विद्यार्थीहरु पनि सफा सुग्घर भएर आउँछन् । उनीहरुले लगाउने विद्यालय पोशाक, झोला पनि सफा हुन्छन् । हात खुट्टाका नंङ काटेर आउनुहोला भनेर शिक्षकले भनिरहनु पर्दैन ।

विद्यालयमै सफा र शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । धारा बाट सीधै आएको पानी दुषित हुनसक्ने भएकाले विद्यालयमै बायोस्याण्ड फिल्टरको समेत व्यवस्था गरिएको छ । विद्यालयमा सिकेका र व्यवहारमा अपनाएका सरसफाइ सम्बन्धी क्रियाकलाप बालबालिकाले आफ्नो घरमा समेत पु¥याउने भएकाले विद्यार्थीका अभिभावक समेत खानेपानी र सरसफाइ प्रति सजग भएका छन् ।

विद्यार्थीमा आएको सरसफाइ प्रतिको सचेतना ‘मेरो विद्यालय सहयोग कार्यक्रम’ ले सम्भव बनाएको हो । ‘मेरो विद्यालय सहयोग कार्यक्रम’ अन्तर्गत विभिन्न क्रियाकलापको माध्यमबाट सरसफाइका बारेमा सचेतना अभिबृद्धि गराईन्छ । सहयोग कार्यक्रम अन्तर्गत नै विद्यालय सरसफाइ सम्मेलन समेत आयोजना गरिएको थियो ।

 


अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयमा मात्र नभई मेरो विद्यालय सहयोग कार्यक्रम सन्चालन भएका ३१ वटै विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी यस्ता सेवा सुविधा उपलब्ध छन् । भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण खनाल भन्नुहुन्छ ‘स्कुल क्षेत्रलाई सरसफाइमा नमूना क्षेत्र बनाउन व्यवस्थापन समिति, अभिभावक, शिक्षक, शिक्षिका र विद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ । सबैले आ– आफ्नो भूमिका निर्वाह गरे विद्यालय क्षेत्रलाई स्वच्छता क्षेत्र कायम राख्न सकिन्छ ।

 


युएन ह्याविट्याटको आर्थिक सहयोगमा प्रकाश सचेतन समुह (प्राग) अर्घाखाँचीले ‘मेरो विद्यालय सहयोग कार्यक्रम’ कार्यान्वयन गरिरहेको छ । कार्यक्रम अन्तर्गत बिद्यालयको खानेपानी तथा सरसफाइको स्तरोन्नति, बायोस्यान्ड फिल्टर जडान, बिद्यालय क्षेत्रको सरसफाइ, फुलबारी तथा बिद्यालय सुन्दरता, विद्यालयमा पानी बितरण प्रणालीको मर्मत, बालमैत्री शौचालय, हातधुने स्थान र धाराको निर्माण, फोहोर व्यवस्थापनको लागि खाडल निर्माण, स्यानिटरी प्याड व्यवस्थापन लगायत सचेतनामुलक कार्यक्रमरु भईरहेका छन् ।

विद्यार्थीलाई सरसफाइ सम्बन्धी सचेतना जगाई विद्यार्थी मार्फत अभिभावक सम्म पु¥याउन विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको युएन ह्याबिट्याट्का जिल्ला संयोजक शिबराज न्यौपानेले बताउनुभयो । विद्यार्थीले सिकेको ज्ञान घरमा अभिभावक र समाजमा लागु गर्न सहज हुने भएकाले सरसफाइ सन्देशको वाहक विद्यार्थीलाई बनाएको बताउनुभयो । ‘विद्यार्थी भविश्यका कर्णधार हुन, आज कक्षाकोठा र व्यवहारमै फोहोरमैला व्यवस्थापन र सरसफाइ सम्बन्धी ज्ञान दिईयो भने देशको उच्च तहमा पुग्दा पनि उनीहरुले त्यो विर्सदैनन् र लागु गर्न सक्छन् ।’ उहाँले भन्नुभयो ।


अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाउन समुदाय तथा विद्यालय केन्द्रित सरसफाइ सम्बन्धी क्रियाकलापहरु भईरहेको प्रकाश सचेतन समुहका निर्देशक प्रेमनारायण गैरेले जानकारी दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार