
रौतहट : दिनभर मजदुरी । मुन्टो लुकाउन सकसको झुप्रो । चन्द्रपुर–९ मा मुसहर बस्ती छ । झुप्रो हालेको जमिन कसैको पनि आफ्नो छैन । यतिबेला उनीहरू खुला दिसापिसाब गर्नबाट रोकतोकको गतिविधिले चिन्तामा छन् । कारण– कसैको पनि आफ्नो शौचालय छैन । खुला दिसा निषेध अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीले सम्झाइरहेका छन् । मुसहर बस्तीका बासिन्दा पुर्खादेखि खुला शौच गर्दै आए । अभियानकर्मीलाई उनीहरू प्रश्न गर्छन्, ‘जमिन छैन । शौचालय कहाँ बनाउने ?’
बस्तीमा वडा कार्यालयले केही समयअघि शौचालय बनाउन प्यान सेटसहितका सामग्री वितरण गरेको थियो । ती सबै बाटोमै फालिएका छन् । ‘बस्नलाई एक धुर जमिन छैन, शौचालय कहाँ बनाउने ?’ सियाराम मुसहर भन्छन्, ‘शौचालय बनाउन दबाब दिएर मात्र हुँदैन, हामीलाई जमिन चाहियो । अनि मात्र बनाउँछौं ।’ गाउँका ६० वर्षीय रामु मुसहर हातमा लोटा बोकेर खेतबाट घर आउँदै गर्दा बाटोमै भेटिए । उनी खेतमा शौच गरेर फर्केका थिए ।
आफ्नो शौचालय नभएपछि परिवारका सबैजना खुला ठाउँमै दिसापिसाब गर्दै आएको उनले बताए । उनको घर भएको बस्ती भने खुला दिसामुक्त घोषणा भइसकेको छ । ‘पहिलेदेखि घरमै पाइखाना बनाउने चलन नै भएन,’ उनले भने, ‘अब कसैले बनाऊ भन्दा बनाउने पैसा पनि छैन ।’ मुसहर बस्तीमा शौचालय बनाउन प्यान सेट वितरण गरेर स्थानीय तहको कर्तव्य पूरा नहुने उनको तर्क छ । बस्तीमा करिब सय घर मुसहर छन् । कसैको पनि आफ्नो शौचालय छैन ।
देश नै खुला दिसामुक्त घोषणा भइसकेको छ । शौचालय नै नभएको बस्तीलाई खुला दिसामुक्त भनिएपछि स्थानीय मुसहर समुदाय छक्कमात्र परेका छैनन्, कारबाहीमा परिने हो कि भन्ने त्रासमा पनि छन् । वडाले शौचालयका लागि सामग्री दिए पनि कसैले बनाएका छैनन् । डुमरिया, बडहर्वा, धमौरा, लक्ष्मीपुर, चेतनगर र कटहरिया लगायतका डोम, चमार र मुसहरलगायत दलित बस्तीमा शौचालय छैन । उनीहरूलाई दरिलो बासस्थानकै पनि समस्या छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
चन्द्रपुर–९ का वडाध्यक्ष गोविन्द दुलालले मुसहर बस्तीमा जमिनको समस्या भएकाले शौचालय निर्माण हुन नसकेको बताए । ‘ट्वाइलेट बनाउन चाहिने सबै समान दिएका छौं,’ उनले भने,‘बास बस्न जग्गा छैन कहाँ बनाउने भनेर उल्टै प्रश्न गर्छन् ।’ दलित बस्तीमा ठूलो समस्या रहेको उनले बताए । सरसफाइप्रतिको चेतना शैक्षिकस्तरसँग जोडिने भएकाले जनप्रतिनिधिबीच यस्ता समस्याको निदान कसरी खोज्ने भन्ने छलफल भए पनि निकासनआएको उनले बताए ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले रौतहटलाई त्रिसठ्ठीऔं खुलादिसामुक्त जिल्लाको रुपमा २०७५ पुस १४ गते खुला दिसामुक्त घोषणा गरिसकेको हो । जिल्लाको १ लाख ४ हजार ७६ घरधुरीमध्ये १८ हजार ७ सय ३३ मा शौचालय रहेको समितिको तथ्यांकमा छ । निजी जग्गा नभएका २ हजार ५ सय ७६ घरपरिवारले शौचालय बनाएका छैनन् ।


1083 पटक हेरिएको 

