सिरहा : मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ का १८ वटा पोखरीलाई सौन्दर्यीकरण गरिने भएको छ । पोखरी सौन्दर्यीकरणको सुरुवात सिरहाको औरही गाउँपालिकामा रहेको एउटा पोखरीबाट सुरुवात गरिएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले औरही गाउँपालिका–५ बभनटोलमा रहेको पोखरी सौन्दर्यीकरणको मंगलबार शिलान्यास गर्नुभयो ।
पोखरी सौन्दर्यीकरण अन्तर्गत पोखरीमा पर्खाल, मन्दिर, अतिथि भवन निर्माण गरिने र पोखरी वरिपरि वृक्षारोपण हुने औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनुभयो ।
आर्थिक मामिलामन्त्री यादवले प्रदेश २ का जिल्लाहरुमा आन्तरिक पर्यटक वृद्धि गर्ने उदेश्यले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरीहरु सौन्दर्यीकरण गर्न लागिएको बताउनुभयो । औरही गाउँपालिका – ५ स्थित पोखरी सौन्दर्यीकरणको काम ३ करोड ४७ लाखमा सम्पन्न हुने गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनुभयो ।