सम्पदा पैदल यात्रा सहित सरसफाइ अभियान चलाइने

 1346 पटक हेरिएको

काठमाडौ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौ उपत्यकाका सम्पदा स्थलमा पैदल यात्रा सहित सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते देखि माघ ४ गतेसम्म सम्पदा क्षेत्रमा पैदल यात्रा सहित सफाइ अभियान गर्न लागिएको हो । सरसफाइमा भाग लिन २५ वटा संस्थाले नाम लेखाएको संस्थाकी अध्यक्ष माला खरेलले जानकारी दिनुभयो ।

अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकार लगायत अभियानकर्मी सहभागी हुनेछन् ।

कुन कार्यक्रम कहिले ?

‘बेटर नेपालकी अध्यक्ष खरेलका अनुसार अभियानको पहिलो दिन पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुर सम्म पैदलयात्रा सहित सफाइ गरिनेछ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर लगायत सहभागी हुनेछन् ।

पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भू सम्म सम्पदा यात्रा सहित सफाइ गरिनेछ । मण्डलाबाट शुरु हुने पदयात्रा सहितको सफाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं सांसद गगनकुमार थापा लगायत सहभागी हुनेछन् ।

पुस २६ गते ललितपुर जिल्लाका सम्पदा स्थलमा पैदलयात्रा सहित सफाइ गरिनेछ । ललितपुरको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा सफाइ गरिनेछ ।

यस्तै माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रा सहित सफाइ गरिनेछ । भक्तपुरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहित अभियानकर्मीको सहभागिता रहनेछ ।

भ्रमण वर्षको सुरुवातमा सम्पदा क्षेत्रलाई सफा र स्वच्छ राख्न अभियानकर्मीसहित नागरिकस्तर बाट यो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष खरेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीयवासी लगायतलाई सार्वजनिक रुपमा आह्वान गरिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको छ । भ्रमण बर्षमा २० लाख भन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार