
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइमा नगरपालिकाले राखेको लक्ष्य प्राप्तिका लागि प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरपालिका क्षेत्र भित्रका २४ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुलाई पूर्ण सरसफाइका बिषयमा अभिमुखीकरण गरिएको हो ।
चाँगुनारायण नगरपालिका पूर्ण सरसफाइको रणनीतिक योजना निर्माण गरी सार्वजनिकीकरण गर्ने प्रदेश ३ को पहिलो नगरपालिका हो । चाँगुनारायणले आगामी २०७८ पुसा मसान्त भित्र पूर्ण सरसफाइ उन्मुख बनाउने लक्ष्य राखेको छ ।
अभिमुखीकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले मानिसको शरीर, घर र भान्छाको सरसफाइ गरे जस्तै बिद्यालय क्षेत्रको पनि नियमित सरसफाइ गर्न सहभागीलाई आग्रह गर्नुभयो । ‘हामीले फोहोरमैला व्यवस्थापनको लागि नगर क्षेत्रभित्र नै ल्याण्डफिल्ड साईटको निर्माण गर्ने, दिसाजन्य लेदो व्यवस्थापन गर्ने, फोहोरमैलाको स्रोतमै वर्गीकरण गरी फोहोरको उचित व्यवस्थापन गर्ने सोच बनाएका छौं ।’ उहाँले भन्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा पूर्ण सरसफाइ कार्यक्रमका नगरपालिका संयोजक सुरेन्द्र लामिछानेले पूर्ण सरसफाइको अवस्था र सूचकहरुको विषयमा जानकारी गराउनु भएको थियो । यस्तै यु.एन.ह्याविट्याटकी जिल्ला संयोजक पार्वती दंगालले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको बिषयमा जानकारी गराउनु भएको थियो । बिद्यालयमा प्रयोग गरिएको वा निर्माण भएको वास सुबिधाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने, बिद्यालयमा पूर्ण सरसफाइ व्यवस्थापन समिति गठन गर्नुपर्ने र बिद्यालयले प्रदान गरेको वास सुबिधाहरुको आधारमा एक तारा, दुई तारा र तीन तारा प्राप्त गर्न सकिने भन्ने बिषयमा जानकारी गराउनु भएको थियो ।
नगरपालिकाको पूर्ण सरसफाइ कार्यक्रमका कार्यक्रम संयोजक राम सत्यालले बिद्यालयमा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा वर्तमान अवस्था र समस्या तथा चुनौतीहरु कस्तो रहेको छ भन्ने विषयमा बिद्यालयको सर्वेक्षण र समूह छलफल गर्नु भएको थियो ।
शिक्षकहरुको तर्फबाट बोल्दै पञ्चकन्या मा.वि.का प्रधानाध्यापक सन्तराम दुलालले बिद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन स्कुल वास सिसि गठन हुनुपर्ने र खुला दिसामुक्त अभियानमा जस्तै पूर्ण सरसफाइ अभियानमा समेत बिद्यालयको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
त्यस्तै चुनादेवी मा.वि.का प्रधानाध्यापक नानुमैयाँ गिरीले बिद्यालयको अगुवाईमा पूर्ण सरसफाइ अभियानलाई समुदाय स्तर सम्म लैजान बिद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नगरपालिकाले बिद्यालयमा प्रयोग गरिएको पानीको गुणस्तर परिक्षण, सरसफाइ सामग्रीको साथै अन्य सूचकहरुमा समेत आवश्यक सहयोग प्रदान गरी नमुना बिद्यालय निर्माण गर्ने अभियानमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।
नगरपालिकाको शाखा अधिकृत एंव वास फोकल पर्सन बिजय कुमार शर्माले नगरपालिका साझेदार संस्था र सरोकारवाला निकायसँगको साझेदारीमा पूर्ण सरसफाइ अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले बिद्यालयमा बिद्यमान खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी समस्या आपसी सहकार्यमा समाधान गदै जाने भनाइ व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाकी उप–प्रमुख विना बास्तोलाले शिक्षक शिक्षिकाहरुलाई स्वागत गर्नुभयो । साथै नगरपालिकाको शिक्षा शाखा प्रमुख बीर बहादुर खड्काले सहभागी शिक्षक शिक्षिकाहरुलाई नगरपालिकाले लिएको लक्ष्यमा एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिका क्षेत्रभित्र Global Sanitation Fund/UN-Habitat को आर्थिक एवं प्राविधिक सहयोगमा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न अभियान सञ्चालन भईरहेका छन् ।



1366 पटक हेरिएको 

