ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको दिसाजन्य लेदो प्रशोधन केन्द्र बन्दै

🔗
10
Shares


ललितपुर : दिसाजन्य लेदो व्यवस्थापनका लागि ललितपुरको महालक्ष्मी नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको प्रशोधन केन्द्र बन्ने भएको छ । बिल गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा महालक्ष्मी नगरपालिकाको वडा नं. ९ मा प्रशोधन केन्द्र बन्न लागेको हो । प्रशोधन केन्द्रको डिजाइन तयार भईसकेको र केही समयभित्रै निर्माणको काम अघि बढ्ने नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाले सेफ्टी ट्याङ्क नबनाउने घरको इजाजत नै रद्द गर्ने जनाएको छ । घर बनाउने इजाजत लिने बेला नक्सामा सेफ्टी ट्याङ्क बनाउने भनेर देखाए पनि प्राविधिकले निरीक्षण गर्ने क्रममा सेफ्टी ट्याङ्क नबनाएको भेटिएमा इजाजत नै रद्द हुने मेयर श्रेष्ठले बताउनुभयो ।

नयाँ प्रशोधन केन्द्र निर्माण नहुञ्जेलसम्म लुभुमा यस अघि नै निर्माण भएको प्रशोधन केन्द्रमा प्रशोधन गर्ने व्यवस्था मिलाईएको मेयर श्रेष्ठले बताउनुभयो । वास खबर सँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘अहिले जुन सेफ्टी ट्याङ्क सफा गरेर कि खोलामा, कि जंगलमा फ्याँकिरहेका छन् त्यसले पनि हाम्रो वातावरण, हाम्रो खोलानाला प्रदुषित गरिरहेको छ । दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न सकेनौं भने यसले दुरगामी नकारात्मक असर पार्ने भएकाले नगरपालिकाले दिसाजन्य लेदोलाई प्रशोधन केन्द्रमा प्रशोधन गरेर त्यसबाट उत्पादन हुने चाहे बायोग्याँस होस्, चाहे मल होस् वा प्रशोधित पानी । त्यसलाई पनि उपयोग गर्ने गरी यो पद्धतिलाई अवलम्बन गर्न सुरु गरेका हौं ।

नयाँ बन्ने घरमा अनिवार्य सेफ्टी ट्याङ्क

महालक्ष्मी नगरपालिकाले नयाँ बन्ने घरमा परिवार संख्याको अनुपातमा सेफ्टी ट्याङ्क बनाउनै पर्ने प्रावधान लागु गरेको छ । दिसाजन्य लेदो व्यवस्थापनको लागि यो महत्वपूर्ण कदम हो । नगरपालिकाले यसका लागि सुरुमा ढल सहितका वडाहरु र ढल बिनाका वडाहरु छुट्याएको थियो ।

वडा नं. १, २, ३, ४ र ५ लाई ढल प्रणालीमा जोड्ने र ६, ७, ८, ९ र १० मा दिसाजन्य लेदो व्यवस्थापन गर्ने गरी योजना बनाएको मेयर श्रेष्ठले बताउनुभयो । ‘एक पटक लगानी गर्दा पुग्ने भएकाले सबै वडाका जनताहरुको माग त ढल प्रणालीमा जडान गर्ने भन्ने नै थियो । तर ढल निर्माण गर्दा लगानीको हिसाबले धेरै रकम आवश्यकता पर्ने र धेरै समय पनि लाग्ने भएकाले हामीले यो आर्थिक बर्षदेखि सबै नयाँ बन्ने घरहरुमा अनिवार्य रुपमा सेफ्टी ट्याङ्क बनाउनुपर्ने र त्यो नचुहिने र बन्द हुनुपर्ने निर्णय ग¥यौं’ उहाँले भन्नुभयो ।

महालक्ष्मी नगरपालिकाले सेफ्टी ट्याङ्क अनिवार्य बनाउनुपर्ने प्रावधानलाई चालु आर्थिक बर्षको साउन १ गतेदेखि लागु गरिसकेको छ । नगरपालिकाले सेफ्टी ट्याङ्क कस्तो हुनुपर्छ ? कति जना परिवारका लागि कति लम्बाई, कति चौडाई, कति गहिराईको बनाउनुपर्छ भन्ने नमुना दरखास्त फाराममै राखेको छ ।

उहाँका अनुसार अहिले नगरपालिकाभित्र भएका सेफ्टी ट्याङ्कहरु होल्डिङ ट्याङ्कहरु जस्ता मात्र छन् । कति चाहिं खल्डे चर्पी छन् । जसका कारणले दिसाजन्य लेदो बगेर इनारहरु र खानेपानीका स्रोतहरुमा मिसिएको छ । ती दुषित पानीले गर्दा हैजा लगायत पानीजन्य रोगहरु फैलिएका छन् ।

‘हाम्रो नगरपालिका प्रतिबद्ध भएर मानवमलमूत्रको व्यवस्थापनका लागि प्रशोधन केन्द्र पनि बनाउँछौं र प्रशोधन केन्द्र सँगसँगै अब बन्ने नयाँ घरमा परिवार संख्याको अनुपातमा अनिवार्य सेफ्टी ट्याङ्क पनि बनाउँछौं’ मेयर श्रेष्ठको बाचा छ ।

सेफ्टी ट्याङ्क नबनाए इजाजत रद्द हुने

महालक्ष्मी नगरपालिकाले सेफ्टी ट्याङ्क नबनाउने घरको इजाजत नै रद्द गर्ने जनाएको छ । घर बनाउने इजाजत लिने बेला नक्सामा सेफ्टी ट्याङ्क बनाउने भनेर देखाए पनि प्राविधिकले निरीक्षण गर्ने क्रममा सेफ्टी ट्याङ्क नबनाएको भेटिएमा इजाजत नै रद्द हुने मेयर श्रेष्ठले बताउनुभयो ।

‘हाम्रो हरेक वडामा प्राविधिकहरु छन् । नगरपालिकामा पनि प्राविधिक इञ्जिनियरहरु हुनुुहुन्छ । पहिलो त नक्सामा उल्लेख भए अनुसार नै सेफ्टी ट्याङ्कको एरिया सहित छुट्याएर उहाँहरुले अस्थायी स्वीकृति लिनुहुन्छ । स्वीकृति लिएपछि भवन निर्माणको काम सुरु गर्नुहुन्छ ।’ उहाँ भन्नुहुन्छ ‘जब डिपीसी लेभल पूरा भएपछि स्थायी स्वीकृतिका लागि आउनुहुन्छ त्यो बेलामा हाम्रो नगरपालिकाको प्राविधिक गएर सेफ्टी ट्याङ्क बनाएको छ कि छैन ? निरीक्षण गर्नुहुन्छ । सेफ्टी ट्याङ्क बनाएको रहेनछ भने उहाँहरुले स्थायी स्वीकृति पाउनुहुन्न, स्थायी स्वीकृति नपाएपछि उहाँहरुले घर बनाउन पाउनुहुन्न ।’

त्यसले गर्दा स्थायी स्वीकृतिका लागि नै सेफ्टी ट्याङ्क अनिवार्य निर्माण गरिसकेको हुनुपर्ने उहाँले बताउनुभयो । बीचमा पनि नगरपालिका र वडामा भएको प्राविधिकले अनुगमन गर्ने र अनुगमनका क्रममा सेफ्टी ट्याङ्क बन्द नगरी भत्काईएको, होल्डिङ ट्याङ्क बनाईएको वा हाम्रो नियम भन्दा बाहिर गएर निर्माण गरिएको पाइएमा उक्त घरलाई कालोसूची राखेर कार्वाही गर्ने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार