
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ । आगामी एक वर्षभित्र पूर्ण सरसफाइ उन्मुख बन्ने तयारीमा रहेको नगरपालिकाले वडागत सफाइ सहजकर्ता तयार गर्न तालिम दिन थालेको हो । तीन दिने तालिमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रशिक्षकले सफाइ अभियन्ताको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकालाई सरसफाइको क्षेत्रमा नमूना नगर बनाउनका लागि नगरपालिकाले यूएन ह््याबिट्याट र ग्लोबल स्यानिटेशन फण्डको सहयोगमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै सफाइ अभियन्ताहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले २०७८ सालको पुस मसान्तभित्र चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्ने लक्ष्य अनुसारको बाटो तय गरिएको चर्चा गर्दै सफाइ अभियन्ताहरु सामाजिक क्षेत्रका रोलमोडल व्यक्ति बन्न जरुरी रहेको बताउनुभयो ।
‘प्रशिक्षक प्रशिक्षण तालिमले क्षमता अभिवृद्धि गर्छ, सफाइ अभियन्ताहरु सफाइको क्षेत्रमा मोडल बन्नुपर्छ, अभियन्ताहरु सफाइका दूत बन्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
तीन दिने तालिमको अवसरमा उपमेयर वीणा बास्तोलाले नगरपालिकाले सफाइको क्षेत्रमा देखेको सपना पूरा गर्नका लागि सफाइ अभियन्ताहरु तयार गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरका प्रत्येक ठाउँलाई स्वस्थ र स्वच्छ बनाउन सरसफाइको जरुरी रहेको उल्लेख गर्दै मन र विचारबाटै सफाइलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले नगरलाई सरसफाइयुक्त र फोहोर मुक्त बनाउने अभियान सुरु भएकोले त्यसलाई पूरा गर्न सबै नगरवासी लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ग्लोबल स्यानिटेशन फण्ड, यूएन ह्याबिट्याटका जिल्ला संयोजक पार्वती दंगालले दिगो सरसफाइका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उल्लेख गर्दै सफाइ कार्यकर्ताले सफाइको क्षेत्रमा उल्लेखनिय योगदान दिन सक्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिका कार्यक्रम संयोजक राम सत्याल, नगरपालिका संयोजक सुरेन्द्र लामिछाने लगायतले सफाइको चर्चा गर्दै खानेपानी तथा सरसफाइ परामर्शदाता होमनाथ आचार्यले सरसफाइ विषयमा प्रशिक्षण गराउनुभएको थियो ।



1222 पटक हेरिएको 

