
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाको वडा नं. १ र ४ मा वातावरणमैत्री होमस्टे स्थापना गरिने भएको छ । होमस्टे सञ्चालन गरिरहेका र सञ्चालन गर्न चाहनेहरुका लागि हालै वातावरणमैत्री होमस्टे सञ्चालन तथा ब्यवस्थापन सम्बन्धी तालिम दिईएको छ ।
पूर्ण सरसफाइ अभियान अभियानको निरन्तरता र दिगोपनाका लागि पूर्ण सरसफाइ उन्मुख समूदायमा वातावरणमैत्री होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको IDS Nepal जिल्ला संयोजक तारा बाबु खातीले जानकारी दिनुभयो । उहाँका अनुसार गेरुवा गाउँपालिकाको वडा नं. १ र ४ का २० जनाले होमस्टे सम्बन्धी तालिम लिएका छन् ।
होमस्टे र पूर्ण सरसफाइको सम्बन्ध नङ र मासुको जस्तै
तालिमका सहभागीले होमस्टे र पूर्ण सरसफाइको सम्बन्ध नङ र मासुको जस्तै हुने कुरा बुझेको बताएका छन् । तालिमका सहभागी हरि राम थारुले आफूहरुलाई तालिमले नौलो उर्जा प्रदान गरेको बताउनुभयो । ‘तालिम अघि होमस्टे सञ्ंचालनको क्रममा अन्यौलता थियो, अब भने निक्कै प्रष्ट भएको छ । दर्ता प्रक्रिया पनि थाहा पाएँ, अब तालिममा सिकेको विषयहरु यबहारमा लागु गर्नेछौं, साँच्चिकै होमस्टे र पूर्ण सरसफाइ अभियानको सम्बन्ध नङ र मासुको जस्तै हुँदोरहेछ’ थारुले भन्नुभयो ।

जनकनगर सामुदायिक होमस्टेका अध्यक्ष तिलक राज थारुले तालिम साह्रै उपलब्धीमूलक भएको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा पनि यस प्रकारका तालिमको आयोजना गर्न आग्रह गर्नुभयो । उहाँले सरोकारवाला सबैलाई आ – आफ्नो ठाउँबाट सहयोग गरिदिन अपिल गर्नुभयो ।
होमस्टे सम्बन्धी तालिम GSF/UN HABITAT को सहयोगमा IDS Nepal/Mayus बर्दियाले संयुक्त रुपमा सहजीकरण गरेको थियो । बर्दियाको गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, बाँसगदी नगरपालिका र राजापुर नगरपालिकामा GSF/UN HABITAT को सहयोगमा IDS Nepal/Mayus बर्दियाले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।
होमस्टे सञ्चालनको अधिक सम्भावना : संयोजक खाती
IDS Nepal जिल्ला संयोजक तारा बाबु खातीले बर्दियाको विभिन्न ठाउँमा होमस्टे सञ्चालन गर्न सकिने धेरै सम्भाबना रहेको र उक्त सम्भाबनालाई सरसफाइ सँग जोड्नुपर्ने बताउनुभयो । सरसफाइ भएमा मात्र होमस्टे फस्टाउने भएकाले सधैं घरभित्र बाहिर र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
‘बर्दियामा पूर्ण सरसफाइको उदाहरणीय काम भएको छ । यसमा गेरुवा गाउँपालिकाको अहम् भूमिका रहेको छ । सरसफाइ अभियानबाट आयआर्जन हुन थाल्यो भने यसको दिगोपनामा टेवा पुग्ने भएकाले होमस्टे सञ्चालन सम्बन्धी तालिम दिईएको हो’ उहाँले भन्नुभयो । यसबर्ष होमस्टे सम्बन्धी सानो तालिम भए पनि अगामी बर्षको कार्यक्रममा तालिमलाई बृहत बनाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गेरुवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष दयाराम बैद्यले होमस्टे स्थापनाका लागि वडाबाट जति सकिन्छ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग लिनको लागि सम्बन्धित समुदायमा भोग जाग्नुपर्ने बताउनुभयो । उहाँले १ नं. वडा क्षेत्रलाई पर्यटकीय क्षेत्र निर्माणको लागि ओखरिया बाँध स्थित शहिद पार्कको डिपीआर, पिकनिक स्थानको लागि रात दिन काम गरिरहेको जानकारी गराउनुभयो ।
यस्तै गेरुवा गाउँपालिकाकी उपाध्यक्ष हेमा कुमारी चौधरीले गेरुवा गाउँपालिकाको वडा नं. १ लाई अरु वडाको तुलनामा बढी महत्व दिईएको बताउनुभयो । उहाँले पूर्ण सरसफाइ तथा होमस्टेको लागि पनि बजेट विनियोजन गरेर काम भईरहेको र आगामी दिनमा समेत गाउँपालिकाबाट यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै राष्ट्रिय समाचार समितिकी सम्वाददाता मेनका चौधरीले आफ्नो पत्रकारिताको माध्यमबाट वातावरणमैत्री होमस्टेका बिषयमा सत्यतथ्य जानकारी देश विदेशसम्म पुर्याउने बताउनुभयो ।
चार दिनसम्म प्रशिक्षण गर्नुभएका छोतेलाल थारुले तालिमको बसाईमा सिकेका विषयबस्तुलाई ब्यबहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सधै सफलताको लागि सक्रिय रहन आग्रह गर्दै आफ्नो तर्फबाट प्रचारप्रसार गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


1644 पटक हेरिएको 

